काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी १ असोजमा घोषणा हुने भएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा ३१ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र दुई जनालाई जनही १० लाख रुपैयाँ बम्पर पुरस्कार दिने तयारी गरेको हो ।
करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो । १ साउनदेखि सुरु भएको कार्यक्रमअन्तर्गत १६ भदौमा पुरस्कार घोषणा गर्ने भनिए पनि भोटेकोसीमा आएको बाढीका कारण देशमा विपत्ति सिर्जना भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले १ असोजमा भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा १–१५ भदौसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट दैनिक एक जनाका दरले १५ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिनेछ । सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, दोस्रो चरणमा १६–३१ भदौसम्म कारोबार गर्ने उपभोक्तामध्येबाट १६ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । उक्त अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।
यसरी १ असोजमा भदौ महिनाका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी कुल ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारका लागि योग्य हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ । विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वत: करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ ।