काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रिओपन सेसनमै बजार परिसूचक नेप्से ८६.०५ अंक अर्थात् ३.३२ प्रतिशतले बढेर २ हजार ६७१.०९ विन्दुमा पुगेको छ ।
प्रिओपन सेसनमा २५७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २५३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, २ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सरकारले पुँजीबजारमा सुधार तथा लगानीकर्ताको विश्वास बढाउने उद्देश्यसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो । कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजीबजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ ।
प्रिओपन सेसनमै अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि मंगलबारको नियमित कारोबारमा समेत बजार थप सकारात्मक रहने अपेक्षा गरिएको छ ।
