काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले हालै नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
जयशंकरले नेपालसँगको समग्र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन् । विशेषगरी आर्थिक, ऊर्जा तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्ले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा सम्पर्क सञ्जालका विषयमा छलफल गरेका थिए ।
२- भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी भएका छन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका थिए । कार्यक्रममा भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए ।

त्यस्तै, अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा. दीपक नायर, भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा सम्पर्क सञ्जालका अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर र भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृतिसहित विभिन्न क्षेत्रका विज्ञ तथा कूटनीतिज्ञ कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

३- भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज्यको निर्धारित बाल संरक्षण प्रणालीमार्फत व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ । बाढी प्रभावित बालबालिकालाई पालनपोषण, शिक्षादीक्षा तथा संरक्षणका नाममा व्यक्ति वा संस्थाले आफ्नो जिम्मामा लिने, विभिन्न माध्यमबाट प्रभाव पार्ने तथा मनोविमर्शका नाममा अवाञ्छित धार्मिक प्रभाव पार्न खोज्ने गतिविधिप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै बालबालिकालाई आफूखुसी जिम्मा लिने वा अन्यत्र स्थानान्तरण गर्ने गतिविधिले उनीहरूको सुरक्षा, मनोसामाजिक अवस्था, भावनात्मक विकास तथा दीर्घकालीन भविष्यमा जोखिम निम्त्याउन सक्ने मन्त्रालयले जनाएको छ । बालबालिकाको सर्वोत्तम हित र सुरक्षित संरक्षण सुनिश्चित गर्न राष्ट्रिय बाल अधिकार परिषद्अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक छानविन तथा मूल्याङ्कनबाट तत्काल सुरक्षित संरक्षण आवश्यक देखिएका बालबालिकालाई निर्धारित प्रक्रियाअनुसार उक्त केन्द्रमा राखिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण अभिभावकविहीन भएका वा तत्काल पारिवारिक संरक्षणबाट वञ्चित बालबालिकालाई सुरक्षित संरक्षणमा ल्याउन सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै, भदौ १० गतेको बाढीबाट प्रभावित तथा सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानीय तहलाई बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उद्धार, पहिचान, संरक्षण, पारिवारिक पुनर्मिलन तथा आवश्यक सेवाका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विपद्का बेला बालबालिकाको संरक्षण कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत पहलमा नभई कानुनबमोजिम राज्य संयन्त्र र बाल संरक्षण प्रणालीमार्फत व्यवस्थित, सुरक्षित र जवाफदेही ढङ्गले गर्नुपर्नेमा जोड दिएको छ । सरकारको यो पहलले बाढी प्रभावित बालबालिकालाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै उनीहरूको पहिचान, पारिवारिक अवस्था मूल्याङ्कन, संरक्षण, शिक्षा, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनालाई एकीकृत प्रणालीमार्फत अघि बढाउने आधार तयार गरेको छ ।
४- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
५- नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कथित नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गर्दै अहिले आन्दोलनको तयारी गरिरहेको बताएका हुन् । उनले संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सडक संर्घषले गर्ने बताए ।
प्रचण्डले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताउदै भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उल्लेख गरे । प्रचण्डले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्दै प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको दाबि गरेका थिए । अर्को प्रसंगमा आफुले भारत भ्रमणका क्रममा नेपालमा मुर्रा भैसी ल्याएको बताउदै त्यो काम चानचुने नभएको उल्लेख गरेका थिए । उनले नेपालबाट चीनमा भैसीको मासु निर्यातका लागि सहमति समेत गरेको प्रसंग बताएका थिए ।
६- सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूतको नाम सिफारिस गरेको हो । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ । त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ । यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ । प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
७- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) मा अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ
। परराष्ट्रमन्त्री शिशिर खनाल भने सेप्टेम्बर २० मै न्यूयोर्क जानेछन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) मा काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
८- १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ। आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ । धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ ।
नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिने मन्त्रालयले जनाएको छ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ भने पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ । अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो। सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्। आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ मा कारोबार भएको थियो । आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १३.६६ प्रतिशतले बढेको छ भने इन्फिनिटी लघुवित्तको शेयर ९.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको ३२ करोड १३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
१०- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजे सम्म १ हजार ४१० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४१० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
११- जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेका हुन् । निर्वाचन समितिका अनुसार नामावली उम्मेदवारी दर्ता भएको समय र आधिकारिक इमेलमा प्राप्त फारमको क्रमअनुसार प्रकाशित गरिएको हो ।
वीरगञ्जमामा हुने जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको छ । सात उपाध्यक्षका लागि भने १४ जना, एक महासचिवका लागि तीन जना र एक राष्ट्रिय उपमहासचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सात जना राष्ट्रिय सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाको नाम प्रारम्भिक सूचीमा समावेश गरिएको छ । उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाको उम्मेदवारी परेको छ। महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार छन् ।
राष्ट्रिय सचिवका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अंजनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, बीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अब असोज ३ गते शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारमाथि दाबीविरोध गर्ने समय तोकिएको छ। असोज ४ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । असोज ५ गते सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने र असोज १० गते शनिबार दोस्रो महाधिवेशन तथा मतदान हुने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट निर्वाचित हुन उम्मेदबारले कम्तीमा खसेको मतको २० प्रतिशत मत ल्याएकै हुनु पर्ने बताइएको छ ।
१२- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन् । आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो । उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ । सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
१३- अमेरिकाबाट परिवारसहित बेलायत फर्किएको तीन सातापछि राजकुमार ह्यारी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले बिहीबार लन्डनमा घाइते पूर्वसैनिकका लागि स्थापना गरिएको आफ्नो संस्था ‘इनभिक्टस गेम्स’को कोष संकलन कार्यक्रममा सहभागिता जनाएका हुन् । सैनिक सेवासँग सम्बन्धित सम्मानसहितको पोसाकमा कार्यक्रममा पुगेका ४२ वर्षीय ह्यारीले घाइते पूर्वसैनिकसँग तस्बिर खिचाएका थिए । उनकी पत्नी मेघन मार्कल भने कार्यक्रममा सहभागी भइनन् । ह्यारी र मेघन आफ्ना दुई सन्तानसहित अगस्ट २६ मा बेलायत पुगेका थिए । त्यसयता उनीहरू सार्वजनिक रूपमा निकै कम देखिएका छन् ।
ह्यारीले करिब छ वर्षअघि परिवारसँगको तनावबीच बेलायत छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसपछि परिवारसँगको सम्बन्धमा थप विवाद उत्पन्न भएको थियो । ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ प्रकाशित गरेपछि पारिवारिक विवाद झन् बढेको थियो । ह्यारीको पछिल्लो सार्वजनिक उपस्थितिको समयमा उनकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले राजा चार्ल्स तृतीयको डायनाप्रतिको व्यवहारबारे कडा आलोचना गरेका छन् । डेली मेलमा धारावाहिक रूपमा प्रकाशित भइरहेको आफ्नो संस्मरणमा स्पेन्सरले सन् १९९६ मा डायनाको कार दुर्घटनामा मृत्यु भएको रात तत्कालीन राजकुमार चार्ल्स निकै उत्साहित सुनिएको दाबी गरेका छन् । स्पेन्सरको दाबीपछि बकिङ्घम दरबारले असामान्य रूपमा प्रतिक्रिया जनाउँदै चार्ल्सले पारिवारिक शोकका कारण पीडाले मानिसको सोच, निर्णय र स्मरणमा प्रभाव पार्न सक्ने विषयप्रति सचेत रहेको जनाएको छ ।
१४- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् । शुक्रबार २९औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा पत्रकारहरूसँग नेता सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५औँ महाधिवेशन गराउनुपर्ने बताउदै विधान मिचेर गरिने महाधिवेशन मान्य नहुने बताए । उनले भने- ‘कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन । विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो। यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ ।’ आफु पक्षका नेताहरु संस्थापन पक्षमा लागेको विषयमा नेता सिंहले कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदका लागि पञ्चायत प्रवेश गरेको र बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति नछोडेका घटनाक्रम उल्लेख गरेका थिए । नेता सिंहले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने बताउदै राजनीतिक एजेन्डाको फैसला पार्टीले नै गर्नुपर्ने बताए ।
१५- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ९० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म सरकारले कुल १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्तिको लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ११.५८ प्रतिशत रकम संकलन भएको छ ।
कुल प्राप्तिमध्ये कर राजस्वबाट १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ । यो कर राजस्वको वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो । गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ भने अनुदानबाट ५ अर्ब ५३ करोड ७ लाख रुपैयाँ प्राप्त भएको छ । भदौ ३१ गते मात्रै सरकारले ५ अर्ब ८६ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यसमध्ये कर राजस्व ५ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा सरकारको कुल खर्च भने १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो ।
कुल खर्चमध्ये चालु खर्च १ खर्ब २२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुगेको छ । पुँजीगत खर्च भने निकै कम देखिएको छ । भदौ ३१ गतेसम्म सरकारले पुँजीगततर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको १.७८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । एकै दिन भदौ ३१ गते सरकारको खर्च ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ भएको छ । यसमध्ये चालु खर्च ७ अर्ब ३७ करोड ९१ लाख र पुँजीगत खर्च ३९ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस तथ्यांकले चालु आर्थिक वर्षको सुरुआती अवधिमै सरकारको खर्च आम्दानीभन्दा बढी रहेको देखाएको छ । भदौ ३१ गतेसम्म कुल प्राप्तिभन्दा खर्च करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक रहेको र हिसाब मिलानपछि रकम परिवर्तन हुन सक्ने जनाएको छ ।
१६- नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटबारे जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साविककै आकार तथा रङमा हुनेछ ।
नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ । नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ । साथै, सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहनेछ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ लेखिएको छ । नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहनेछ । १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षण धागो प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ । नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ ।
नोटको तल्लो भागमा अंग्रेजी भाषामा ५० रुपैयाँ जनाउने शब्द तथा सन् २०२५ को श्रृंखला उल्लेख गरिएको छ । राष्ट्र बैंकले नयाँ नोटलाई साविककै ५० रुपैयाँको नोटसरह कानुनी मान्यता रहने जनाएको छ । यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार चलनचल्तीमा रहेका ५० रुपैयाँका नोट पनि यथावत् रूपमा प्रयोग गर्न सकिनेछन् । राष्ट्र बैंकले नयाँ नोट सार्वजनिक गर्नुको उद्देश्य सर्वसाधारणलाई नोटका विशेषताबारे जानकारी गराउनु रहेको जनाएको छ । नोटमा विभिन्न सुरक्षण विशेषता समावेश गरिएकाले नक्कली नोट नियन्त्रण तथा वास्तविक नोट पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ ।
१७- साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा नर्विच सिटीलाई ५–० गोलले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ । इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटीले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको हो । सिटीको जितमा १७ वर्षीय फ्लोयड साम्बाले दुई गोल गरेका थिए । आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले २९औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रयान शेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता २–० बनाएका थिए । दोस्रो हाफ सुरु भएको केही मिनेटमै सिटीले तेस्रो गोल गर्यो ।
४८औँ मिनेटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याए । ५४औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्याएका थिए । खेलको अन्तिम मिनेटमा रायन म्याकआइडुले गोल गरेपछि सिटीले ५-० को शानदार जित सुनिश्चित गर्यो । नर्विचका मोहम्मद टुरेले ७४औँ मिनेटमा गोल गरे पनि उनी अफसाइड रहेको भन्दै गोल मान्य भएन । यो जितसँगै सिटीले काराबाओ कपको चौथो चरणमा स्थान बनाएको छ । अब उसले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ ।
१८- भारतीय ब्याट्सम्यान अभिषेक शर्माले अफगानिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० बलमै शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याट्सम्यानमध्ये सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेका छन् । दिल्लीमा विहिबार राति भएको खेलमा अभिषेकले ३० बलमा शतक पूरा गर्दै जिम्बाब्वेका सिकन्दर रजा र न्युजिल्यान्डका फिन एलेनको ३३ बलको कीर्तिमान तोडेका हुन् । एलेनले सन् २०२६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध तथा रजाले सन् २०२४ मा गाम्बियाविरुद्ध ३३ बलमा शतक बनाएका थिए ।
अभिषेकले १६ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि थप १४ बलमा शतक पूरा गरेका उनले अन्ततः ३४ बलमा १०८ रन बनाएर आउट भएका थिए । उनले नौ चौका र ११ छक्का प्रहार गरेका थिए । यो अभिषेकको टी–२० अन्तर्राष्ट्रिय खेलमा तेस्रो शतक हो । भारतीय ब्याट्सम्यानमध्ये रोहित शर्माले पाँच तथा सूर्यकुमार यादवले चार शतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान भने एस्टोनियाका साहिल चौहानको नाममा छ, जसले सन् २०२४ मा साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।
१९- जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ । अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । नेपालबाट कुल २११ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ सदस्यीय चिकित्सकीय टोली, चार पत्रकार तथा विशिष्ट अतिथिसहित मुख्य प्रतिनिधि, उपमुख्य प्रतिनिधि र अन्य अधिकारी रहेका छन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एशियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक टिम खेलसहित विभिन्न व्यक्तिगत खेलमा प्रतिस्पर्धा गर्दैछ । टिम खेलतर्फ पुरुष तथा महिला कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलमा नेपालको सहभागिता रहनेछ। कबड्डीमा पुरुष र महिला गरी २४ खेलाडी सहभागी हुनेछन्। पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी छन् ।
व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी खेलाडी सहभागी हुनेछन् । त्यसबाहेक नेपालले धनुर्विद्या, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, गल्फ, जुडो, कराते, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, टेनिस र कुस्तीमा पुरुष तथा महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ । डुंगा दौड, स्केटबोर्ड र तेक्वान्दोमा भने नेपालका पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्। नृत्य खेलमा नेपालबाट एक खेलाडी सहभागी हुनेछन् । नेपालले एशियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल पदकविहीन भएर फर्किएको छैन । अहिलेसम्म नेपालले एशियाली खेलकुदमा तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ । तर नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । उक्त प्रतियोगितामा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत पदक र महिला कबड्डी टोलीको कांस्य पदक गरी दुई पदक जितेको थियो ।
२०- संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इरानमाथि लगाइएको प्रतिबन्धको निगरानी जारी राख्ने अमेरिकी प्रस्ताव रूस र चीनको असहमतिका कारण असफल भएको छ । रूस र चीनले प्रस्तावमा विरोध जनाएपछि राष्ट्रसंघीय विशेषज्ञ समूहको निगरानीसम्बन्धी व्यवस्था अन्त्य हुने भएको छ । अमेरिकाले इरानमाथि पुनः लगाइएको प्रतिबन्ध कार्यान्वयन भए–नभएको अध्ययन गर्न राष्ट्रसंघीय विशेषज्ञ समूहको कार्यकाल थप एक वर्ष बढाउने प्रस्ताव गरेको थियो । मतदानमा ११ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मत दिएका थिए भने रूस र चीनले विरोध गरेका थिए । सोमालिया र पाकिस्तान मतदानमा सहभागी भएनन् । रूस र चीनको स्थायी सदस्यका रूपमा रहेको असहमतिले प्रस्ताव पारित हुन सकेन ।
इरानमाथिका राष्ट्रसंघीय प्रतिबन्धमा विदेशमा रहेका केही सम्पत्ति रोक्का गर्ने, हतियारसम्बन्धी कारोबारमा प्रतिबन्ध लगाउने तथा आणविक र क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गतिविधिमा निगरानीलगायतका व्यवस्था छन् । राष्ट्रसंघका अनुसार इरानसम्बन्धी विशेषज्ञ समूहको वर्तमान कार्यादेश सेप्टेम्बर २६ मा सकिँदै थियो । इरानमाथि पुनः प्रतिबन्ध लगाउने प्रक्रिया सन् २०१५ को आणविक सम्झौतासँग जोडिएको छ । फ्रान्स, बेलायत र जर्मनीले सम्झौताका प्रावधान प्रयोग गर्दै ‘स्न्यापब्याक’ प्रक्रिया अघि बढाएपछि सन् २०२५ मा राष्ट्रसंघीय प्रतिबन्ध पुनः लागू गरिएको थियो। इरान, रूस र चीनले भने उक्त प्रक्रियाको कानुनी वैधतामाथि प्रश्न उठाउँदै आएका छन् । रूसले अमेरिकी प्रस्तावलाई कानुनी आधार कमजोर भएको दाबी गर्दै अस्वीकार गरेको छ । मस्कोले इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया नै गलत रहेको बताउँदै आएको छ। चीनले पनि इरानको आणविक विवाद समाधानका लागि दबाबभन्दा कूटनीतिक संवाद आवश्यक रहेको धारणा राख्दै आएको छ ।
अमेरिकाले भने विशेषज्ञ समूहको निगरानी समाप्त हुँदा प्रतिबन्ध उल्लङ्घनबारे स्वतन्त्र र प्रमाणमा आधारित जानकारी प्राप्त गर्ने राष्ट्रसंघको क्षमता कमजोर हुने बताएको छ । अमेरिकी पक्षले यसबाट प्रतिबन्ध छल्ने गतिविधिको निगरानीमा कमी आउन सक्ने चेतावनी दिएको छ । इरानले भने रूस र चीनको कदमको स्वागत गरेको छ । इरानी पक्षले राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास रोकिएको दाबी गरेको छ । यस निर्णयसँगै इरानको आणविक कार्यक्रम, राष्ट्रसंघीय प्रतिबन्ध र त्यसको निगरानीलाई लिएर अमेरिका तथा उसका युरोपेली साझेदारहरू एकातिर र रूस–चीन अर्कोतिर रहेको मतभेद थप स्पष्ट भएको छ । राष्ट्रसंघको विशेषज्ञ समूहले प्रतिबन्ध कार्यान्वयनबारे सूचना संकलन, उल्लङ्घनको अध्ययन र सुरक्षा परिषद्लाई सुझाव दिने काम गर्दै आएको थियो ।
Single Image