काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्।
शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए।
संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा उनको जोड छ। उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभइ नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे।
सरकार जनताको मालिक नभई ’सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै उनले कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महशुस गर्न नपर्ने वातावरण बनाउन बनाउनुपर्ने टिप्पणी गरे।
कार्यक्रममा राष्ट्रपति पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न दलका नेता लगायत सहभागी थिए।
