काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । यो प्रधानमन्त्री भएपछि शाहको पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क जाने छन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल गत आइतबारनै अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ ।
२- जापानमा जारी २०औँ एसियाली खेलकुदको पछिल्लो पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले ३२ स्वर्ण, १३ रजत र ८ कांस्य गरी कुल ५३ पदक जितेको छ । आयोजक जापानले ११ स्वर्ण, १६ रजत र १९ कांस्य गरी ४६ पदक जितेर दोस्रो स्थानमा तथा दक्षिण कोरियाले ६ स्वर्ण, ४ रजत र १७ कांस्य गरी २७ पदक जितेर तेस्रो स्थानमा स्थान बनाएको छ । त्यस्तै, कजाखस्तानले ६ स्वर्ण, ४ रजत र १७ कांस्य, थाइल्यान्डले ४ स्वर्ण, १ रजत र १ कांस्य, हङकङ चीनले ३ स्वर्ण, ५ रजत र ४ कांस्य, ताजिकिस्तानले २ स्वर्ण, १ रजत र १ कांस्य तथा भारतले १ स्वर्ण, ४ रजत र २ कांस्य जितेका छन् । त्यसैगरी, उज्वेकिस्तानले १ स्वर्ण, ४ रजत र १ कांस्य, चाइनिज ताइपेईले १ स्वर्ण, ३ रजत र ५ कांस्य, इरानले १ स्वर्ण, ३ रजत र १ कांस्य, सिंगापुरले १ स्वर्ण, ३ रजत र १ कांस्य तथा मकाउ चीनले १ स्वर्ण र ३ रजत जितेको छ । त्यस्तै, जोर्डन र म्यान्मारले १ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् भने मलेसिया र भियतनामले १ स्वर्ण र ३ कांस्य जितेका छन् । त्यसैगरी, कुवेतले १ स्वर्ण र २ कांस्य जितेको छ भने बहराइनले २ रजत, इन्डोनेसियाले १ रजत र ७ कांस्य, फिलिपिन्सले १ रजत र ३ कांस्य, इराकले १ रजत र २ कांस्य, लेबनान र कतारले १ रजत र १ कांस्य जितेका छन् । त्यस्तै अफगानिस्तान, श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत जितेका छन् भने कम्बोडियाले ४ कांस्य, किर्गिस्तानले ३ कांस्य, साउदी अरेबियाले २ कांस्य तथा पाकिस्तानले २ कांस्य जितेका छन् । त्यसैगरी, ब्रुनाई दारुसलाम, मंगोलिया र सिरियाले समान १ कांस्य जितेका छन् ।
३- चीनले नेपाललाई ‘माजु–नेपाल’ मौसम पूर्वसूचना प्रणाली औपचारिक रूपमा हस्तान्तरण गरेको छ । चीनको सिन्च्याङमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसमसम्बन्धी सहकार्य मञ्चका क्रममा चीन मौसम प्रशासनले नेपाल मौसम विभागलाई उक्त प्रणाली हस्तान्तरण गरेको हो । गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी पहिरोपछि चीनले निरन्तर मौसमसम्बन्धी सहयोग गर्दै आएको थियो । अगस्ट २९ मै ‘माजु–नेपाल’ प्रणाली परीक्षणका लागि उपलब्ध गराइएको थियो । उद्धार तथा राहतका क्रममा यसै प्रणालीका आधारमा दैनिक मौसम अनुगमन तथा पूर्वानुमान विवरण तयार गरी नेपाली अधिकारीलाई उपलब्ध गराइएको थियो ।

‘माजु–नेपाल’ले फेङयुन मौसम उपग्रहबाट प्राप्त तथ्याङ्क तथा चिनियाँ कृत्रिम बौद्धिकतामा आधारित पूर्वानुमान प्रणालीलाई एकीकृत गरी उच्च गुणस्तरको मौसम अनुगमन र पूर्वानुमान सेवा उपलब्ध गराउछ । नेपालको भौगोलिक अवस्था, विपद्को प्रकृति, पूर्वाधार र तथ्याङ्कको अवस्थालाई ध्यानमा राखेर प्रणाली तयार गरिएको जनाइएको छ । आगामी दिनमा चीनले नेपालमा ‘माजु–फेङयुन’ उपग्रहमा आधारित कृत्रिम बौद्धिकता उपकरण तथा अन्य एकीकृत उपकरण जडानमा सहयोग गर्ने जनाएको छ । साथै नेपाली जनशक्तिलाई विशेष तालिम दिने र दुवै देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान तथा परामर्श संयन्त्र स्थापना गर्ने योजना रहेको छ । चीन मौसम प्रशासनका प्रशासक चेन झेनलिनले मौसमसम्बन्धी पूर्वसूचना आर्थिक तथा सामाजिक विकास, जनकल्याण र जनधनको सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले ‘माजु’ प्रणालीलाई चीनको अभ्यासबाट विश्वव्यापी सार्वजनिक सेवाका रूपमा विस्तार गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

४- मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ । मध्य प्रदेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भइ पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको विभागले जनाएको छ । यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशबाट बर्षाको गतिविधि बढ्दै जाने मौसम बुलेटिनमा उल्लेख छ ।

सो प्रभावले विशेषगरी पहाडी क्षेत्रमा पहिरो, बाढी र गेग्रान बहावको जोखिम बढ्नुका साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ । भारी वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ । महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्ने जनाएको छ ।
५- मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू धमाधम घर फर्किन थालेका छन् । निरन्तर बर्षा र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढी धमाधम फर्किन थालेका हुन् । अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात भइरहेको छ । पाँच फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन् । आरोहण दलका मिगमार शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘प्रतिकूल मौसम र लगातारको हिमपातका कारण यसपटकको मनास्लु हिमाल आरोहण अभियानलाई यहीँबाट स्थगित गर्नुपरेको छ । शिखर चुम्ने सपना अधुरै रहे पनि सुरक्षित फर्किनु नै पहिलो प्राथमिकता हो । हिमाल सधैं त्यहीँ रहन्छ, अर्को अवसर फेरि आउनेछ । मनस्लु, अर्को भेटसम्म ।’ अर्कोतर्फ मौसम पूर्वानुमान महाशाखाले पनि असोज १२ गतेसम्म सतर्क रहन चेतावनी जारी गरेपछि आरोहीहरु फर्किन लागेको बताइएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म मनास्लु आरोहणका लागि विभिन्न ४१ समुहका ३६६ पुरुष र १२७ महिला गरि कुल ४९३ जनाले अनुमति लिएका छन् ।
६- सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १६ मा दिएको आमाफीविरुद्ध परेको रिट खारेज गरेको हो । चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध शारदा कडायतले चौधरीले आममाफी दिने जेठ १४ को निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् । कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।
७- उत्तर कोरियाले नयाँ हतियार प्रणालीको परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार परीक्षणमा ह्वासोङ–११ एमए नामको हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन छोरीसहित परीक्षण अवलोकन गर्न पुगेका थिए । किमले नयाँ हतियारको विकासले देशको युद्ध तयारी थप मजबुत बनाउने र शत्रुका लागि ठूलो चुनौती सिर्जना गर्ने बताएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटको वोनसान क्षेत्रबाट करिब तीन घण्टाको अन्तरमा दुई छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको थियो। ती क्षेप्यास्त्र करिब ४५० र ६०० किलोमिटर टाढासम्म पुगेका थिए ।
उत्तर कोरियाले यसअघि ह्वासोङ–११ एमएलाई हाइपरसोनिक हतियारका रूपमा दाबी गर्दै आएको छ । आवाजको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रले उडानका क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले त्यसलाई पहिचान र रोक्न कठिन हुने बताइन्छ । यद्यपि, उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रसम्बन्धी दाबीमा दक्षिण कोरिया र विज्ञहरूले प्रश्न उठाउँदै आएका छन् । उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र र आणविक हतियारको विकासलाई तीव्रता दिइरहेको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानको सन् २०२६ को अनुमानअनुसार उत्तर कोरियासँग करिब ६० आणविक हतियार छन् । उत्तर कोरियासँग छोटो दूरीका क्षेप्यास्त्रदेखि अमेरिकासम्म पुग्न सक्ने क्षमताका ह्वासोङ–१७ र ह्वासोङ–१८ जस्ता अन्तरमहादेशीय क्षेप्यास्त्रसमेत रहेका छन् ।
८- जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ । संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा पक्षमा उभिएको भन्दै काफ्लेलाई कारबाही गरिएको थियो । त्यसपछि प्रदेश सभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो । उक्त निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन् ।
९- सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित कारण पेश गर्न आदेश दिदै दाहाललाई २४ घण्टाभित्र अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो । दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।
१०- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति गठन गरेको हो । समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि सम्बन्धित पक्षसँग वार्ता तथा एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार मिल्ने सबै पक्षसँग एकताका लागि वार्ता गरिनेछ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले पार्टी र जनवर्गीय संगठनको समायोजन तथा सदस्यता नवीकरण, संगठन सुदृढीकरण अभियान र पार्टीमा अन्य समूहलाई समाहित गर्ने विषयलाई पनि एजेन्डामा राखेको छ । बैठकले महाधिवेशन तथा अधिवेशन, सचिवालय र कार्यसमिति बैठक, वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको दायित्वबारे छलफल गर्ने तय गरेको छ । त्यस्तै बैठकमा भोटेकोशी बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माण अभियानको विषयमा पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन् ।
११- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी मिड सोलु हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.७५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा ८.२३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेष्टमेन्टको ४४ करोड ४० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले छोराको लाससँग संसद पद साटेको भन्दै आफुलाई अपमानित गरिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै जेनजी शहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले आफुलाई अपमानित गरिएको बताउदै आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरेकी हुन् । उनले भनिन्- ‘छोराको लासमाथि सांसद पद साटेको भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गर्दछु ।’ संसद्मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै सांसद खतिवडाले जेन्जी आन्दोलनका सहिदहरूले पूर्णरुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन् ।
उनले शहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरिन् । आफ्नो सम्बोधनको क्रममा उनी भावुक भएकी थिइन् । उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छन् ।
१३- महिला क्रिकेटतर्फ भारतले श्रीलंकालाई पराजित गर्दै जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ । महिला क्रिकेटको फाइनलमा भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै अघिल्लो संस्करणमा जितेको स्वर्णको रक्षा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भएको थियो । हारपछि श्रीलंकाले रजत पदक जितेको छ । त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै कास्य पदक जितेको छ ।
१४- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाइएको छ । प्रधानमन्त्री शाह आज साँझ ७ बजे न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । ती सञ्चार संस्थाले समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारको प्रवेश अनुमति रद्द गरिएको भन्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बताएका छन् । ट्रम्पले भने ती सञ्चार संस्थाले आफ्नो प्रशासनबारे झुटा र नकारात्मक समाचार प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धको बचाउ गरेका छन् ।
यसैबीच, एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको सामूहिक समाचार संकलनमा सहभागी नहुने घोषणा गरेका छन् । यसैबीच, ह्वाइट हाउसले सोमबार ‘ट्रम्प टिभी : द एसेन्सियल्स स्टेसन’ नामको २४ घण्टा चल्ने डिजिटल भिडियो प्रसारण सेवा सुरु गरेको छ । यसमा प्रशासनका घोषणा, राष्ट्रपतिको वक्तव्य र अन्य सामग्री प्रसारण गरिने बताइएको छ । ह्वाइट हाउसले उक्त सेवा सुरु गरेको समयमै सीएनएन, एमएस नाउ र पोलिटिकोले ह्वाइट हाउसबाट आफूहरूलाई बाहिर राखिएको विषयमा कानुनी चुनौती दिएका छन् । उनीहरूले सरकारलाई सञ्चारमाध्यमले के समाचार प्रकाशन गर्ने भन्ने निर्णय गर्ने अधिकार नहुने बताएका छन् ।
१६- सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन समेत सञ्चालनमा आएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ भने स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका ६ वटा फिडर निकालिएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने र यसबाट विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने प्राधिकरणले जानकारी दिएको छ ।
साथै, स्थानीय क्षेत्रमा विद्युतको बढ्दो माग व्यवस्थापन गर्न तथा आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्युतको प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे । करिब २० किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा एक अर्ब १२ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो ।
१७- प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । मंगलबार भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिएका थिए ।
प्रधानमन्त्री शाहले भनेका थिए- ‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ । त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’ प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारे । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने- ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।’
१८- त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको हो । सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियोसमेत सार्वजनिक भएको थियो । अस्पतालका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो । प्रहरीले सुरुमा उनको नाम दावा लामा भएको बताए पनि मृतकको परिचयबारे थप विवरण खुल्न बाँकी रहेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको देखिएको बताइएको छ । घटनाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
१९- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न पनि निर्देशन दिएका हुन् । यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको निगरानी गर्न आग्रह गरेको छ ।
शिक्षक आचरण तथा प्रचलित शिक्षा ऐन र नियमावलीविपरीत गतिविधि पाइएमा कानुनअनुसार आवश्यक कारबाही गर्न पनि भनिएको छ । यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न आग्रह गरेको छ । सिन्धुलीको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ । शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनसहितको व्यवस्थाविपरीत गतिविधि पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरी त्यसको जानकारी शिक्षा विकास तथा समन्वय एकाइलाई गराउन सम्बन्धित स्थानीय तहलाई भनिएको छ ।
२०- बेलायतले यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको जवाफमा साउदीलाई ‘रक्षात्मक हवाई सहयोग’ उपलब्ध गराउने भएको छ । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले साउदी अरबको आग्रहपछि यस्तो सहयोग गर्न सहमति जनाइएको बताएका छन् । बेलायतले साइप्रसस्थित आरएएफ अक्रोटिरीबाट एउटा भ्वाएजर विमान परिचालन गर्ने तयारी गरेको छ । उक्त विमानले साउदी लडाकु विमानलाई हवाई इन्धन भर्ने काम गर्नेछ । यो सहयोग आगामी केही दिनभित्र सुरु हुने र सुरुमा केही साताका लागि मात्र सीमित रहने बताइएको छ । यमनका हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबको राजधानी रियादसहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् ।
बेलायती अधिकारीका अनुसार प्रस्तावित रक्षात्मक सहयोगमा हुथीका क्षेप्यास्त्र र ड्रोन रोक्न साउदी वायुसेनालाई सहयोग पुग्ने गतिविधि समावेश हुन सक्छ । बेलायती प्रधानमन्त्री बर्नहमले साउदी अरबमाथि भइरहेको आक्रमण र सम्भावित थप अवरोधका कारण क्षेत्रीय तथा बेलायती हित सुरक्षित गर्न सहयोगको निर्णय गरिएको बताएका छन् । लाल सागर हुँदै हुने जल यातायात विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मार्ग मानिन्छ । बेलायतले यसअघि सन् २०२४ मा अमेरिकासँग मिलेर यमनमा हुथीका विभिन्न ठेगानामाथि हवाई आक्रमण गरेको थियो । हुथी विद्रोही र यमन सरकारबीच सन् २०१४ देखि जारी द्वन्द्वमा साउदी अरब यमन सरकारको पक्षमा रहँदै आएको छ भने हुथीलाई इरानको समर्थन रहेको बताइन्छ ।