काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् ।
बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण राजमार्गहरू बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन् ।
देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौंमै रोकिएको जानकारी दिए।
उनका अनुसार हाल पृथ्वी राजमार्ग , बीपी राजमार्ग र कान्तिलोक मार्गलगायत विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौंबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताए।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिए।

यस्तै,बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यका भित्रका नदीमा पानीको बहाव बढ्न थालेको छ। नदी बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।

यसैगरी,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ । जल तथा मौसम विभागका अनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन अपिल गरेको छ।