काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान तिनाउ गाउँपालिका–५ चरचरे र जोरधाराको बिचमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजनसँगको समन्वयमा राजमार्ग खुलाउन आवश्यक समन्वय भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जान हिँडेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।
सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङजा, पोखरा, बेनी, मुस्ताङलगायतका स्थानमा जाने र बुटवलतर्फ आउने सवारीसाधन चल्ने गर्छन् ।
यस्तैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीमा सडक माथिबाट पहिरो खस्दा बतासेबाट रैनादेवी छहरा गाउँपालिकातर्फ जाने भित्री सडकखण्ड पनि अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

यस्तै, भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

८ देखि १२ असोजसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सडक बन्द गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।