गुल्मी । मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज असोज ९ गतेदेखि असोज १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
भारी वर्षाका कारण बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।

