काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासंघभित्र प्रजातान्त्रिक अभ्यास कमजोर हुँदै गएको आरोप लगाएका छन्।
नेपाल पोल एसोसिएसनको नवौँ साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले महासंघ एकतर्फी ढंगले सञ्चालन भइरहेको दाबी गरे। उनले महासंघमा लामो अनुभव भएका व्यक्तिहरूलाई समेत पाखा लगाएर निर्णय प्रक्रिया अघि बढाइएको आरोप लगाए।
सरकार परिवर्तन भइसके पनि निजी क्षेत्रका व्यवसायीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको श्रेष्ठको भनाइ थियो। व्यवसायीहरू एकजुट भएर आफ्ना समस्या उठाउनुपर्ने समयमा महासंघ नै कमजोर र विभाजित देखिनु दु:खद भएको उनले बताए।
“महासंघमा प्रजातान्त्रिक अभ्यास कमजोर भएको छ। अनुभवी व्यक्तिहरूलाई पाखा लगाएर संस्था एकतर्फी ढंगले सञ्चालन गरिएको छ,” श्रेष्ठले भने।
समग्र निजी क्षेत्र नै एकजुट हुनुपर्नेमा जोड दिँदै श्रेष्ठले पछिल्लो समय महासंघको नेतृत्वप्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए।

“व्यवसायीहरू एकजुट हुनुपर्ने बेला महासंघको उपाध्यक्ष हुँ भन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको छ,” उनले भने।

निजी क्षेत्रको साझा संस्था महासंघले सरकारसँग प्रभावकारी समन्वय गर्दै व्यवसायीका समस्या समाधानमा परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने श्रेष्ठको भनाइ थियो। उनले निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा उठाउन महासंघ थप सशक्त र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।