काठमाडौं । विश्व स्वास्थ्य संगठनले बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनालाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा औँल्याउँदै यसको उपचारमा औषधि वा शल्यक्रियाभन्दा स्वस्थ खानपान, शारीरिक गतिविधि र व्यवहारमा परिवर्तनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
डब्ल्यूएचओले पहिलोपटक बालबालिका र किशोरकिशोरीमा मोटोपनाको समग्र व्यवस्थापनसम्बन्धी विश्वव्यापी निर्देशिका सार्वजनिक गर्दै यस्तो बताएको हो । निर्देशिकाले २९ दिनदेखि १० वर्षभन्दा कम उमेरका बालबालिका तथा १० देखि १९ वर्षसम्मका किशोरकिशोरीका लागि छुट्टाछुट्टै उपचार तथा व्यवस्थापनका उपाय सुझाएको छ ।
डब्ल्यूएचओका अनुसार ० देखि ९ वर्ष उमेरका बालबालिकामा मोटोपना घटाउन औषधि, मोटोपना घटाउने शल्यक्रिया वा तौल व्यवस्थापनका उपकरण प्रयोग गर्न सिफारिस गरिएको छैन । यस उमेर समूहमा खानपान, शारीरिक गतिविधि, बसिरहने समय, पर्याप्त निद्रा र व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
१० देखि १९ वर्षका किशोरकिशोरीमा भने स्वीकृत औषधि प्रयोगबारे चिकित्सकीय निगरानीमा विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ । तर त्यसअघि व्यवस्थित खानपान, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा आधारित कार्यक्रम पर्याप्त रूपमा अपनाइएको हुनुपर्ने र त्यसबाट अपेक्षित सुधार नआएको अवस्था हुनुपर्नेछ ।

गम्भीर मोटोपना भएका किशोरकिशोरीमा भने अत्यन्त कडा मापदण्ड पूरा भएमा मात्र मोटोपना घटाउने शल्यक्रियाबारे विचार गर्न सकिनेछ ।

डब्ल्यूएचओका अनुसार सन् २०२४ मा ५ देखि १९ वर्ष उमेर समूहका करिब ४० करोड बालबालिका तथा किशोरकिशोरी बढी तौल भएका थिए । तीमध्ये करिब १७ करोड मोटोपनाबाट प्रभावित थिए ।

यस उमेर समूहमा मोटोपनाको दर सन् १९९० को २ प्रतिशतबाट बढेर २०२४ मा ८ प्रतिशत पुगेको छ। अर्थात् ३४ वर्षको अवधिमा बालबालिका तथा किशोरकिशोरीमा मोटोपनाको दर चार गुणा बढेको हो। सन् २०२४ मा मोटोपनाबाट प्रभावित १७ करोडमध्ये करिब ७ करोड ५ देखि ९ वर्षका बालबालिका र १० करोड १० देखि १९ वर्षका किशोरकिशोरी थिए ।
डब्ल्यूएचओले बालबालिका र किशोरकिशोरीमा मोटोपना बढ्दै जानुमा अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा स्वास्थ्यका लागि प्रतिकूल वातावरणलगायत विभिन्न कारणको भूमिका रहेको जनाएको छ ।
डब्ल्यूएचओले मोटोपनाको उपचारको आधार स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन हुनुपर्ने स्पष्ट पारेको छ। मोटोपना भएका बालबालिका र किशोरकिशोरीलाई व्यक्तिगत रूपमा वा अन्य उपचारसँग जोडेर व्यवस्थित खानपान तथा शारीरिक गतिविधिको कार्यक्रम सञ्चालन गर्न संगठनले बल दिएको छ ।
त्यस्तै, डिजिटल स्वास्थ्य सेवा वा स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग गर्दा बालबालिकाको उमेरअनुसार अभिभावक वा हेरचाहकर्ताको निगरानी आवश्यक हुने डब्ल्यूएचओको सिफारिस गरेको छ ।
डब्ल्यूएचओले मोटोपना भएका बालबालिका तथा किशोरकिशोरीमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने जनाएको छ। मोटोपनाका कारण सामाजिक विभेद, अपमान र साथीबाट जिस्क्याउने वा दुर्व्यवहारको जोखिम बढ्न सक्ने भएकाले उपचारमा बालबालिकाको मानसिक तथा सामाजिक अवस्थालाई समेत समेट्नुपर्ने संगठनको भनाइ छ ।
डब्ल्यूएचओले बालबालिकाका लागि पौष्टिक खाना सहज र सुलभ बनाउने तथा सुरक्षित रूपमा खेल्न र शारीरिक गतिविधि गर्न सक्ने वातावरण निर्माण गर्ने नीति ल्याउन सरकारहरूलाई आग्रह गरेको छ।
संगठनका अनुसार मोटोपना अहिले केवल उच्च आय भएका देशको समस्या रहेन। पछिल्ला वर्षमा न्यून तथा मध्यम आय भएका देशमा पनि बालबालिका र किशोरकिशोरीमा मोटोपना तीव्र रूपमा बढिरहेको छ। त्यसैले यसको समाधानका लागि परिवारको प्रयाससँगै विद्यालय, समुदाय, स्वास्थ्य प्रणाली र सरकारको समन्वित भूमिका आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओको मुख्य सन्देश स्पष्ट छ—बालबालिकाको मोटोपना घटाउने पहिलो उपाय औषधि वा शल्यक्रिया होइन, स्वस्थ खानपान, सक्रिय जीवनशैली र दीर्घकालीन व्यवहार परिवर्तन हो ।