काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो ।
असोज २३ गते आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारसम्बन्धी जानकारी दिइएको थियो ।
कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने कामबारे जानकारी गराइएको थियो । साथै, सेयर लगानीका आधारभूत विषयमा पनि चर्चा गरिएको थियो ।
विद्यार्थीलाई लगानी गर्दा हुन सक्ने जोखिम र त्यसको व्यवस्थापन गर्ने तरिकाबारे जानकारी दिइएको थियो । सुरक्षित लगानीका अभ्यासबारे समेत सहभागीलाई सचेत गराइएको क्यापिटलले जनाएको छ ।

विद्यार्थीमा वित्तीय ज्ञान र पुँजी बजारसम्बन्धी सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसले युवा पुस्तालाई लगानीसम्बन्धी निर्णय लिन आवश्यक आधारभूत ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
