काठमाडा । कवि तथा सञ्चारकर्मी सरोज ओझा राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा सम्मानित भएका छन्।
साहित्य, सिर्जना तथा सञ्चार क्षेत्रमा सक्रिय ओझालाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।
सम्मान ग्रहणपछि कवि तथा सञ्चारकर्मी ओझाले आफूलाई स्रष्टा सम्मानका लागि योग्य सम्झेर सम्मानित गरेकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले सम्मान प्राप्त गर्नु आफ्नो लागि गौरव र खुसीको विषय भएको बताउँदै यसले साहित्य, सिर्जना र सञ्चार क्षेत्रमा अझ जिम्मेवार भएर क्रियाशील रहन प्रेरणा प्रदान गरेको उल्लेख गरेका छन्।
ओझाले यस प्रकारका सम्मानले स्रष्टाहरूको सिर्जनात्मक यात्रालाई प्रोत्साहन गर्नुका साथै समाजप्रति आफ्नो दायित्वबोध अझ बढाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम संघका अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कला, साहित्य, संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टाहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

दशैंको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा स्रष्टाहरूबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र सांस्कृतिक एकतालाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। कार्यक्रममा स्रष्टा, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।