काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइ रोकिएको छ ।
बुधबार संसदीय समितिमा सुनुवाइका क्रममा खरेलमाथि सांसदहरुले आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठाएको र उनीविरुद्ध आएका उजुरीहरु गम्भीर प्रकृतिका भएको बताएपछि थप छलफलका लागि सुनुवाई रोकिएको हो ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गर्दै जग्गा कारोबार, आर्थिक लेनदेन वा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन नदेखाएको र संलग्नता पुष्टि गर्ने प्रमाण भए पेश गर्न आग्रह गरेका थिए ।
रास्वपाका सांसद राजीव खत्रीले समितिमा पनि र आफुसँग पनि खरेलले राजदुत बन्दैछु भनेर विभिन्न व्यक्तिहरुसँग पैसा उठाएको, म्यानपावर कम्पनिको गाडी चढिरहेकोलगायतका आरोप बारे प्रश्ग्न गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले खरेलको दाबी र बाहिर आएका अडियो–डकुमेन्ट बाझिएको भन्दै तथ्य र प्रमाणको वस्तुनिष्ठ परीक्षण हुनुपर्नेमा जोड दिएका थिए ।

सांसद वर्षमान पुनले पनि हतारमा निर्णय लिनुभन्दा समितिमा आएका थप प्रमाण र डकुमेण्टहरूको अध्ययन गरी अगाडि बढ्नु उचित हुने बताउदै प्रस्तावित राजदुतमाथि लागेका दागहरू स्पष्ट नभई पठाउँदा कुटनीतिक वातावरण बिग्रन सक्ने चेतावनी दिए ।

नेकपा एमाले सांसद पद्या अर्यालले समितिमा उजुरी नपरे पनि प्रस्तावित राजदूतमाथि प्रश्न उठाउने तथ्यहरु सार्वजनिक भएकाले देशको प्रतिष्ठा र विश्वासको पद भएकाले हलुका हिसाबले लिन नहुने बताउदै आवश्यक अनुसन्धान गरेर मात्रै प्रस्ताव गर्न सकिने बताएकी थिइन् ।

समितिले सुनुवाइ प्रक्रियालाई तत्कालका लागि होल्ड गर्दै अहिलेसम्म प्राप्त सबै कागजात र उजुरीहरूको अध्ययन गर्ने र त्यसपछि मात्रै थप निर्णय लिने भएको छ । अहिले समितिले प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ प्रक्रिया रोकेर आन्तरिक छलफल गरिरहेको छ । आवश्यक भए केही समयपछि पुनः समितिमा बोलाइने समिति सभापति वोधनारायण श्रेष्ठले बताएका छन् ।