काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल दशैँअघि नै पुन: सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ।
आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसीसी संरचना बगाएको थियो।
बाढीबाट पुलको ट्रस संरचना भने सुरक्षित रहेकाले सोही संरचनाको उपयोग गरी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको हो।
प्राविधिक टोलीले क्षतिग्रस्त पुलको अवस्थाबारे मूल्यांकन गरी बाँकी रहेको संरचनामा बेलिब्रिज जडान गर्न सकिने सम्भावना देखाएपछि सरकारले जडानको काम अघि बढाएको छ।
दशैँअगावै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित बेलिब्रिज जडानको काम तीव्र गतिमा अघि बढाइएको छ।
