काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’को आकार वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
साथै, कोषले इकाइधनीका लागि व्यवस्थित रूपमा रकम झिक्न सकिने एसडब्लूपी (सिस्टेमेटिक विथड्रअल प्लान) सुविधा पनि सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार कोषको अधिकृत आकार १ अर्ब रुपैयाँबाट वृद्धि गरी ३ अर्ब रुपैयाँ कायम गर्न बोर्डबाट २०८३ असोज १९ गते स्वीकृति प्राप्त भएको हो ।
शुभ लक्ष्मी कोषको आकार सुरुमा ५० करोड रुपैयाँ रहेको थियो । पछि १ अर्ब रुपैयाँ पुर्याउन स्वीकृति पाएपछि थप इकाइ बिक्रीमार्फत उक्त रकम करिब पूर्ण रूपमा संकलन गरी इकाइ बाँडफाँट गर्न कम्पनी सफल भएको जनाएको छ । एक वर्षको अवधिमा कोषको आकार विस्तार गर्न सफल भएको कम्पनीले अब थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहज हुने अपेक्षा गरेको छ ।
यसैगरी, कोषले इकाइधनीका लागि एसडब्लूपी सुविधा पनि सुरु गरेको छ । यस सुविधामार्फत इकाइधनीले आफ्नो लगानीबाट निश्चित समय अन्तरालमा आवश्यक रकम योजनाबद्ध र नियमित रूपमा झिक्न सक्नेछन् ।

विशेषगरी, लगानीबाट नियमित आम्दानी लिन चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ ।

नियमित रूपमा लगानी गर्न एसआईपी (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) र आवश्यकताअनुसार योजनाबद्ध रूपमा रकम झिक्न एसडब्लूपी सुविधा उपलब्ध भएपछि शुभ लक्ष्मी कोष लगानीकर्ताका लागि थप उपयोगी विकल्प बन्ने कम्पनीले अपेक्षा गरेको छ
