काठमाडौं । ७१ औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय,नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएका छन्।
उनले कार्यक्रममा सहभागी नभई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री बालेनले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले वाचन गरेका थिए।
प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देशमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन,प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक,इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको बताएका छन्।
त्यस्तै,कृत्रिम बुद्धिमत्ता (एआई),एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको सन्देशमा उल्लेख छ। प्रहरी कर्मचारी,उनीहरूका परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।
‘विपद्मा सारथी,संकटमा छहारी,प्रविधियुक्त नेपाल प्रहरी’भन्ने नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा प्रधानमन्त्रीले प्रहरी संगठनलाई आधुनिक तालिम,नीतिगत मार्गदर्शन,कानुनी सहजता र पूर्वाधार विकासमार्फत थप सक्षम बनाइने बताएका छन्।

सन्देशमा उनले राष्ट्रको सेवा गर्ने क्रममा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले आन्तरिक शान्ति,सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संकटका बेला धैर्य,सही निर्णय र कुशल कार्यसम्पादन महत्त्वपूर्ण हुने बताएका छन्।
