म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो।
अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताए।
उनका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा रहेका गाउँपालिकाले विवरण संकलन गरेको छ। फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ, पालसीङ बढी प्रभावित भएका छन् । तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए। ’तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,’ उनले भने, ’दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ।’

उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ। बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन संघीय तथा प्रदेश सरकार, दातृ निकाय र दातासँग समन्वय भइरहेको उनले बताए। रासस
