चितवन। आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’ मार्फत नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोही स्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ ।
हस्पिटालिटीले नवलपुरको गैंडाकोटमा ६५ कोठाको ईला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको ईला कम्फर्ट, बाग्लुङ बजारमा ३० कोठाको ईला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा शुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउन लागेको छ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको ईला रिसोर्ट सञ्चालनमा ल्याईदै छ ।
पोखरामा ३५ कोठाको द लेक साईड रिट्रिट सञ्चालनमा छ भने ईला होटल लाजिम्पाट एक सय कोठाको सञ्चालनमा आउने तयारीमा छ । आइएमई समूहको चन्द्रागिरी हिल्स रिसोर्स भने १२० कोठासहितको छ र लामो समयदेखि सञ्चालनमै रहेको छ ।
नवलपुरको गैंडाकोटस्थित इला रिसोर्टमा हिजो पत्रकारहरुसँगको अन्तक्र्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरुसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अन्तर्राष्ट्रिय स्तरको सेवा हामी सर्वसुलभ रुपमा दिएका छौं ।” नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा आफूहरुले दिएको उहाँको भनाई छ ।

हस्पटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाण्डौं टेक्निकल स्कूल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर, हाउसकिपिङ उत्पादन गर्दै आएको छ । उनीहरुले ती होटलहरुमा काम गर्दै आएका छन् । ढकालले भन्नुभयो “दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरु अन्तर्राष्ट्रिय स्तरका अन्य ब्राण्डसँग प्रतिस्पर्धी बन्न सकेका छन् ।”

उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको उहाँको भनाई छ । अधिकांश होटलहरु पर्यटकीय गन्तव्यहरुमा छन् । सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरु सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

उहाँले चन्द्रागिरिमा केबलकार, रिसोर्ट, थिमपार्कलगायतका पर्यटकीय पूर्वाधार निर्माणबाट प्राप्त अनुभवले सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो ।”

चन्द्रागिरिमा केबलकार, पाँचतारे रिसोर्ट, थिमपार्क, थ्रीडी पार्क तथा मन्दिरलगायतका पूर्वाधार निर्माणले पर्यटकलाई आकर्षित गर्न र पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुगेको उहाँको भनाइ छ । यही अनुभवका आधारमा सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विकास गर्ने अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले नेपालमै अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘इला’ ब्रान्डको होटल सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो । आफ्नै व्यावसायिक सञ्जाल र अनुभवको उपयोग गर्दै स्वदेशी होटल ब्रान्ड विकास गर्ने सोचका साथ इला सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ,“हामी आफ्नै ब्रान्ड किन नबनाउने ? यत्रो नेटवर्क र सबै कुरा छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने हिसाबले ‘इला’ सञ्चालनमा ल्याएका हौँ । यो कुनै पनि अन्तर्राष्ट्रिय ब्रान्डका होटलभन्दा कम नहुने गरी बनाएका छौँ ।”
होटल इलाले स्थानीय वातावरण र पर्यटकीय सम्भावनालाई उपयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उहाँको भनाइ छ । तल्लो क्षेत्रमा हुने गर्मी छल्दै पहाडी तथा पर्यटकीय क्षेत्रमा चिसो मौसमको अनुभव लिन सकिने वातावरणसँगै वन्यजन्तु सफारी र धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
व्यवसाय विस्तार गर्दा सरकारको प्राथमिकता, आम सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । “हामीले तीनवटा सिद्धान्तमा काम गरेका छौँ ।” उहाँले भन्नुभयो, “पहिलो, सरकारले प्राथमिकता दिएका क्षेत्रमा लगानी गर्ने, दोस्रो, आम सर्वसाधारणले चाहेका काम गर्ने; र तेस्रो, व्यावसायिक रूपमा दिगो हुने गरी काम गर्ने । ”
निजी क्षेत्रको पूँजी परिचालनबाट मुलुकभित्रै ठूला पर्यटकीय परियोजना सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले यस्ता लगानीले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यही समूहको चन्द्रागिरी, मौलाकालि, लुम्बिनी केवलकार सञ्चालनमा आईसकेका छन् भने आगामी केही समयभित्रै कैलालीको चिसापानीमा जालपादेवी सञ्चालनमा आउँदैछ । पाथीभरामा ६० प्रतिशत काम सकिएको छ भने देवघाटबाट मौलाकालिका जोड्ने गरी अर्काे केवुलकार निर्माण गरिंदै छ । कास्कीको सिक्लेसमा केवलकारको प्रक्रिया अगाडि बढाईएको छ ।
कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी गरिएको छ भने मधेशप्रदेशभित्र पर्यटकीय पूर्वधार निर्माणका लागि अध्ययन भईरहेको छ ।
ईला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले होटलले दक्ष कर्मचारी, आधुनिक सुविधा र उच्च गुणस्तरीय सेवामार्फत अन्तर्राष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
विदेशमा हाँसिल गरेको ज्ञान र सीपलाई उपयोग गरी फर्किएका र आफैले तयार गरेका जनशक्तिले सेवा दिइरहेको उहाँको भनाई छ । थापा समेत २० वर्ष विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गरेर फर्किनु भएको हो ।
नेपालमा टाईगर प्यालेस, सिजी हस्पिटालिटी, याक एण्ड यती, सिद्धार्थ हस्पिटालिटी लगायतको अनुभवपछि आफू ईलामा जोडिएको भन्दै उहाँले उच्च गुणस्तरको सेवा दिन सफल भएको बताउनुभयो । इलाका सबै होटलहरु रमणीय स्थलमा भएकाले पनि पर्यटकको रोजाईमा पर्ने गरेको उहाँले बताउनुभयो । रासस