रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो ।
लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका सञ्चालक निमा लामाले बताएका छन् ।
जिल्ला सदरमुकाम धुन्चेबाट करिब दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । हाल धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्ने वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य र पदयात्राका लागि प्रसिद्ध यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेसँगै स्थानीय पर्यटन व्यवसायीमा पनि आशा पलाएको छ ।