काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार राईका अनुसार भ्रमणमा उनका आफन्त कैलाश भण्डारी पनि सँगै जानेछन् ।
चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) का अनुसार फोरममा विश्वका विभिन्न देशका राजनीतिक, कूटनीतिक, शैक्षिक, व्यावसायिक, सञ्चारमाध्यम तथा युवा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ ।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र विश्वव्यापी शासन प्रणालीमा सुधार ल्याउने विषयमा छलफल हुनेछ ।
त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई), साइबरस्पेस र अन्तरिक्षको शासन व्यवस्थासँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग तथा विज्ञान र प्रविधिमा भएका प्रगतिबाट सबै देशले समान रूपमा लाभ लिन सक्ने उपायबारे पनि छलफल गरिने आयोजकले जनाएको छ ।
