काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ ।
हिजो बेलुका ८ बजे खुलेको टिकट साढे ८ बजे नै सकिएको प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाले जनाएको छ ।
एनपीएल सोमबारदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
नेपाल क्रिकेट संघ क्यानले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ ।
