काठमाडौं । नेपालमै पहिलो पटक ललितपुर महानगरपालीकाले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण गरिरहेको छ ।
महानगरपालिकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्ने र शारीरिक रूपमा अशक्त व्यक्ति, बालबालिकासहित सबै नागरिकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण गरिरहेको हो ।
ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटको चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुल अन्तिम चरणमा पुगेको छ ।
महानगरपालिकाले पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।
करिब ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल परम्परागत आकाशे पुलभन्दा फरक छ ।

पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिने भएकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, बालबालिका तथा सिँढी चढ्न कठिनाइ हुने अन्य व्यक्तिलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पुल सञ्चालनमा आएपछि व्यस्त सडकमा जथाभावी बाटो काट्नुपर्ने बाध्यता हट्नुका साथै र सडक सुरक्षामा सुधार आउने महानगरको अपेक्षा छ ।

तस्बिरः सरिता चौधरी

