काठमाडौं । यही कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेलमैदानमा ‘१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी, २०८३’ आयोजना गरिने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित प्रदर्शनी सञ्चालन गर्न लागेको हो । नजिकिँदै गरेको तिहार तथा छठ पर्व समेत लक्षित गरी आयोजना गर्न लागिएको पाँचदिने यो मेलामा ८६ प्रदर्शनी कक्ष (स्टल) रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष सुमन महर्जनले जानकारी दिए । त्यसमध्ये व्यावसायिक ७८, प्लान्ट क्लिनिक एक, अफिसियल चार, प्रतियोगितात्मक दुई र फोटो सेल्फी एक स्टल रहने मेलाका संयोजक समेत रहेका महर्जनले बताए ।
वाग्मती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री राम आलेमगर कात्तिक १२ गते बिहान ११ बजे मेलाको उद्घाटन गर्ने कार्यक्रम तय छ ।
पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले फ्यानले ०५१ सालदेखि लगातार रूपमा यस्ता मेला तथा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
यस वर्ष भित्र्याइएका नयाँ गोदावरी प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल–बिरुवाहरूका साथै चाडपर्वलक्षित सयपत्री, मखमली र अरू मौसमी तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री–वितरणका निम्ति राखिने आयोजकले जनाएको छ ।

यस प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा धेरैको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
