काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौँ चलचित्र महोत्सव’ सुरु भएको छ।
शुक्रबार साँझ बसन्तपुरमा आयोजित कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा बसन्तपुर क्षेत्रमा सम्पदा यात्रासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो।
उद्घाटनमा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित भारतीय अभिनेत्री शवाना आजमीलगायत नेपाली तथा विदेशी फिल्मकर्मीहरुको उपस्थिति थियो।
१५ गतेसम्म चल्ने महोत्सवको आजमीसहित सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुँदै छन्।
शवाना कार्तिक १४ गते पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवाद हुनेछ।

आमन्त्रित विदेशी कलाकारहरु नेपाली कलाकार तथा चलचित्र क्षेत्र र रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तित्वहरुसँगै उद्घाटन सत्र, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद तथा मास्टर क्लासलगायत कार्यक्रममा सहभागी हुँदै छन्।

महानगरपालिकाले नेपाली पुराना चलचित्रहरुको संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकमा निर्माण भएका नेपाली फिल्म ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शन गर्नेछ।

महोत्सवमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका फिचर फिल्म, काल्पनिक कथामा आधारित चलचित्र, फिल्म र छोटा चलचित्रहरू (सर्ट फिल्म) प्रदर्शन गरिनेछन्।

‘नेपाल प्यानोरामा सट्र्स’मा स्थानीय नवप्रतिभाहरूले नेपालकै सन्दर्भमा तयार पारिएका फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री समावेश गरिनेछन्।
यसरी छानिएका चलचित्रलाई महानगरपालिकाले हरेकलाई १ लाख रुपियाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ।
यस्तै खुला आव्हानबाट युवा लक्षित ५ मिनेट अवधिसम्मका सर्ट भिडियो च्यालेञ्जमा ३५ वटा भिडिओ प्राप्त भएका थिए। यीमध्ये प्रदर्शनका लागि ११ वटा छानिएका छन्।
यसरी छानिएकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमश: १ लाख ५० हजार रुपियाँ, १ लाख रुपियाँ र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन।