काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।
भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ।
कम्पनीका अनुसार विद्युतीय सवारीले इन्धनमा आधारित ढुवानीको विकल्प दिनुका साथै सञ्चालन खर्च न्यूनीकरणमा सहयोग पुर्याउनेछन्। हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान दिने बताए।
उनले एकैपटक १४ वटा सवारी हस्तान्तरण हुनुलाई दिगो यातायातप्रतिको व्यावसायिक क्षेत्रको बढ्दो विश्वासका रूपमा व्याख्या गरे। नेपाली व्यवसायको आवश्यकताअनुसार विश्वसनीय र आधुनिक विद्युतीय सवारी उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ छ।
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए। फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

उनका अनुसार ढुवानी तथा वितरणमा विद्युतीय सवारी समावेश गर्ने पहलले अन्य व्यवसायलाई पनि यस्ता सवारी प्रयोग गर्न प्रोत्साहित गर्न सक्छ।

कम्पनीले वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र कार्यक्षमताका आधारमा आफ्ना विद्युतीय सवारी व्यावसायिक ढुवानीका लागि उपयोगी हुने दाबी गरेको छ। भाटभटेनीसँगको सहकार्यबाट विद्युतीय व्यावसायिक सवारी बजारमा आफ्नो उपस्थिति विस्तार हुने अपेक्षा फोटोन मोटर्स नेपालले गरेको छ।
