काठमाण्डाै – नेपालमा काम गर्ने उमेरको जनसङ्ख्या सन् २०४७ अर्थात् अबको २१ वर्षपछि उच्च विन्दुमा पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यस्तै त्यसको १२ वर्षपछि अर्थात् सन् २०५९ मा नेपाल वृद्ध समाजमा प्रवेश गर्ने प्रक्षेपण छ ।
विश्व बैंकले सार्वजनिक गरेको दक्षिण एशियाको जनसाङ्ख्यिकीय परिवर्तनसम्बन्धी प्रतिवेदनले काम गर्ने उमेर समूहको जनसङ्ख्याबाट आर्थिक लाभ लिने नेपालको समय सीमित रहेकाले अहिले नै रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा विस्तारमा ध्यान दिनुपर्ने औँल्याएको हो ।
प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान झन्डै २५ प्रतिशत रहे पनि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप, अनुभव र पूँजीलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा उपयोग गर्न सकिएको छैन । त्यस्तै जलविद्युत् र निर्माण क्षेत्रबाहेक अन्य क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन ।
महिला श्रम सहभागिता कमजोर हुनु, स्वास्थ्य सेवामा असमान पहुँच र वृद्धावस्थाको सामाजिक सुरक्षा कमजोर रहनुलाई पनि प्रतिवेदनले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।
६५ वर्ष वा त्याेभन्दा माथिका उमेर समूहका कामदारमध्ये झन्डै ९१ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत रहेकाले धेरैजसाे वृद्ध श्रमिक योगदानमा आधारित पेन्सन प्रणालीको पहुँचबाहिर छन् ।

विश्व बैंकका अनुसार दक्षिण एशियामा अहिले काम गर्ने उमेर समूहका १ अर्ब १७ करोड जनसङ्ख्या रहे पनि एक दशकभन्दा कम समयमै यो सङ्ख्या उच्च विन्दुमा पुगेर घट्न थाल्नेछ ।

– न्युज एजेन्सी नेपाल
