काठमाडौँ । आज धनतेरसको दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले र चाँदी तोलामा ११० रुपैयाँले घटेको हो ।
शुक्रबार एक तोला सुन किन्नेले २ लाख ८३ हजार रुपैयाँ मात्रै खर्चिनुपर्नेछ । बिहीबार सोही परिमाणको सुन किन्दा २ लाख ८८ हजार ९०० रुपैयाँ खर्चिनुपरेको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा धनतेरसको दिन सुनचाँदीका गरगहना तथा सिक्का खरिद गर्ने चलन छ । धनतेरसको दिन सुनचाँदी किन्नेले राम्रो मौका पाएको महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताए । हिजोको तुलनामा आज सुन किन्नेहरुलाई तोलामा ६ हजार रुपैयाँ फाइदा भएको उनको भनाई छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०४२.५१ अमेरिकी डलर र चाँदी ५१.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
