काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओपबहादुर कार्की र अभय कुमार गुप्ता,निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी,तत्कालीन एमआईएस अपरेटर खिला विक र सोही गाउँपालिका वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष शुक्रविर तामाङविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगले प्रतिवादीहरूबाट ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ११ बमोजिम कैद,बिगो बराबर जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी गरेको छ। उनीहरूविरुद्ध छुट्टाछुट्टै विगो माग गरिएको छ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा आफ्नै औँठाछाप लगाउने,दोहोरो नाम राख्ने तथा मृत्यु भइसकेका र बसाइँसराइ गरेका लाभग्राहीको नाममा समेत भत्ता वितरण गरेको देखाएर भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ।