काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको आगामी भारत भ्रमणलाई लिएर बहस सुरु भएको छ ।
हत्तपत्त विभिन्न व्यक्तिसँग भेटघाट गर्न नरुचाउने र फलदायी भ्रमणलाई मात्र प्राथमिकता दिने प्रधानमन्त्री साहको आगामी भ्रमण कस्तो होला भन्ने विषयमा धेरैको चासो बढेको छ ।
यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेका छन् । नेपाल र भारतबीच पछिल्लो समय बिग्रिएको भनिएको सम्बन्धलाई सुमधुर बनाउने अवसरका रूपमा पनि यस भ्रमणलाई हेरिएको छ ।
यसै सन्दर्भमा कर्पोरेट खबरले भारतका लागि नेपालका पूर्वराजदूत डा. दुर्गेशमान सिंहसँग प्रधानमन्त्रीको भारत भ्रमणका अवसर र चुनौतीका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । पूर्वराजदूत सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश:
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको तयारी भइरहेका बेला यस भ्रमणलाई कसरी हेर्नुभएको छ ? प्रधानमन्त्रीका अवसर र चुनौती के हुन ?

प्रधानमन्त्रीका लागि सबैभन्दा ठूलो चुनौती भारतसँग दीर्घकालीन समझदारी कायम गर्नु हो । नेपाल–भारत सम्बन्धलाई तत्कालीन राजनीतिक भावना वा आन्तरिक राजनीतिक स्वार्थका आधारमा अघि बढाउनु हुँदैन । परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित हुनुपर्छ ।

भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक स्वार्थलाई स्पष्ट रूपमा परिभाषित गरेर अघि बढ्न आवश्यक छ । प्रधानमन्त्रीले भारतीय नेतृत्वसँग खुलस्त संवाद गर्दै नेपालका प्राथमिकता र प्रतिबद्धता स्पष्ट पार्नुपर्छ । नेपालमा आएर एउटा कुरा गर्ने र भारतमा गएर अर्कै कुरा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

नेपाल–भारत सम्बन्धमा सीमा विवाद लगायतका पुराना समस्या छन् । प्रधानमन्त्रीले यी विषयलाई कसरी उठाउनुपर्छ ?

सीमा विवाद लगायतका समस्या एकैपटक समाधान हुन्छन् भन्ने अपेक्षा गर्नु व्यावहारिक हुँदैन । त्यसका लागि स्थापित संयन्त्र र कूटनीतिक संवादलाई प्रभावकारी बनाउनुपर्छ । दुई देशबीच भएका पुराना सहमति र प्रतिबद्धतालाई पनि राज्यको निरन्तरताका आधारमा सम्मान गर्नुपर्छ । कुनै सहमति परिमार्जन गर्नुपर्ने भए पनि वार्ता र कूटनीतिक माध्यमबाट दुवै देशलाई स्वीकार्य हुने समाधान खोज्नुपर्छ । नेपालको असंलग्न परराष्ट्र नीति र स्वतन्त्र राष्ट्रिय स्वार्थलाई कायम राख्दै अघि बढ्नुपर्छ ।
नेपालले भारतसँगको सम्बन्धमा आफ्नो राष्ट्रिय स्वार्थलाई कसरी प्राथमिकतामा राख्न सक्छ ?
अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी मित्र वा शत्रु हुँदैनन्, स्थायी राष्ट्रिय स्वार्थ हुन्छन् । नेपालले पनि आफ्नो राष्ट्रिय र आर्थिक स्वार्थ स्पष्ट रूपमा पहिचान गर्नुपर्छ । भारतसँगको सम्बन्ध भावनात्मक नारामा होइन, आपसी लाभ र व्यावहारिक सहकार्यमा आधारित हुनुपर्छ । नेपालले आफ्ना प्राथमिकता स्पष्ट रूपमा राख्न सक्नुपर्छ । भारतलाई पनि नेपालको स्थिरता र समृद्धि उसको आफ्नै हितमा छ भन्ने कुरा बुझाउन आवश्यक छ ।
नेपालले भूपरिवेष्टित अवस्थालाई भूराजनीतिक तथा आर्थिक अवसरमा बदल्न भारतसँग कस्तो सहकार्य गर्नुपर्छ ?
नेपालको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण विषय कनेक्टिभिटी हो । सडक, रेलमार्ग, हवाई सेवा र अन्य पूर्वाधारको विकास नगरी आर्थिक समृद्धि सम्भव हुँदैन । नेपालले भारतसँगको सम्पर्क सञ्जाल विस्तार गरेर आफ्नो भौगोलिक अवस्थालाई अवसरमा बदल्नुपर्छ । भारत र चीन दुवै देशमा पूर्वाधार विकास तीव्र गतिमा भइरहेको छ । त्यसको लाभ नेपालले पनि लिन सक्नुपर्छ । यसका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ र निजी क्षेत्रलाई उद्योग, व्यापार तथा रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नुपर्छ ।
अयोध्यादेखि जनकपुरसम्म रेल सेवा विस्तार गर्ने विषयले पर्यटन र दुई देशबीचको सम्बन्धमा कस्तो प्रभाव पार्न सक्छ ?
अयोध्यादेखि जनकपुरसम्म रेल सेवा विस्तार हुनु सकारात्मक पहल हो । तर रेल सेवा सञ्चालन हुनु मात्रै पर्याप्त हुँदैन । भारतबाट आउने पर्यटकलाई नेपालमा चार–पाँच दिनसम्म बस्ने वातावरण बनाउनुपर्छ ।
जनकपुरसँगै चितवन, पोखरा र अन्य पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन सर्किट विकास गर्न सकिन्छ । यसले पर्यटन व्यवसाय, रोजगारी र स्थानीय अर्थतन्त्रलाई फाइदा पुर्याउँछ। साथै, जनस्तरको सम्बन्ध पनि अझ बलियो हुन्छ ।
नेपाल र भारतबीच धेरै पूर्वाधार आयोजना तथा परियोजनाहरू अघि बढेका छन् । तर कतिपय आयोजना वर्षौंसम्म सम्पन्न हुँदैनन् । यसको मुख्य कारण के हो ?
नेपालको विकासमा आयोजनाहरू समयमै सम्पन्न नहुनु ठूलो समस्या हो । कुनै आयोजना चार वर्षमा सकिनुपर्नेमा दस वर्ष लाग्छ भने त्यसको लागत पनि बढ्छ र राष्ट्रमाथि आर्थिक भार थपिन्छ ।
सरकारले आयोजना घोषणा गर्ने मात्रै होइन, तोकिएको समयमै सम्पन्न गर्ने प्रणाली विकास गर्नुपर्छ । नेपाल र भारतबीचका परियोजनामा अनुगमन, समन्वय र कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ। आयोजना समयमै सम्पन्न भए विदेशी लगानीकर्ताको विश्वास पनि बढ्छ ।
भारतसँग नेपालको आर्थिक कूटनीतिलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्रीले के गर्नुपर्छ ?
आर्थिक कूटनीति नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण आधार बन्नुपर्छ । भारत ठूलो बजार हो । त्यहाँका उपभोक्ता र व्यापारिक सम्भावनालाई नेपालले उपयोग गर्न सक्नुपर्छ ।
नेपालले भारतसँग आर्थिक सहकार्य गर्दा दुवै देशलाई फाइदा हुने परियोजनामा जोड दिनुपर्छ । जलविद्युत्, पर्यटन, उद्योग, व्यापार र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिन्छ ।
भारतले पनि नेपालसँगको आर्थिक सम्बन्धबाट लाभ लिन सक्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । त्यसैले आर्थिक कूटनीति नारामा होइन, परिणाममा देखिनुपर्छ ।
नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न सरकारले कुन क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ?
नेपालले भारतसँगको व्यापार घाटा कम गर्न निर्यात बढाउनुपर्छ । त्यसका लागि उत्पादन क्षमता विस्तार, उद्योग स्थापना र गुणस्तरीय वस्तु उत्पादनमा जोड दिन आवश्यक छ ।
भारतको उत्तर प्रदेश र बिहारजस्ता ठूला बजार नेपालका लागि महत्त्वपूर्ण अवसर हुन् । ती बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सकिन्छ । तर त्यसका लागि उत्पादन लागत घटाउने, गुणस्तर कायम गर्ने र व्यापारसम्बन्धी प्रक्रियालाई सहज बनाउने काम गर्नुपर्छ ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लामो समयदेखि चर्चामा छ । यसको कार्यान्वयनमा किन ढिलाइ भइरहेको छ ?
पञ्चेश्वर परियोजना नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । यसबाट जलविद्युत् उत्पादन, सिँचाइ र अन्य आर्थिक लाभ लिन सकिन्छ । तर लामो समयदेखि सहमति र छलफल भए पनि कार्यान्वयन अघि बढ्न सकेको छैन । दुवै देशले यस विषयलाई प्राथमिकतामा राखेर बाँकी प्राविधिक तथा अन्य विवाद समाधान गर्नुपर्छ । परियोजना अघि बढे नेपाललाई मात्रै होइन, भारतलाई पनि फाइदा हुन्छ। त्यसैले राजनीतिक इच्छाशक्ति र व्यावहारिक सहकार्य आवश्यक छ ।
नेपालले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्न कस्तो रणनीति अपनाउनुपर्छ ?
नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सम्बन्ध अघि बढाउनुपर्छ । भारत र चीनबीच प्रतिस्पर्धा छ भन्दैमा नेपालले कुनै एक पक्षको विरुद्धमा अर्को पक्षलाई प्रयोग गर्ने नीति लिनु हुँदैन ।
नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्छ । भारत र चीन दुवैसँग व्यापार, पूर्वाधार, पर्यटन र आर्थिक सहकार्य विस्तार गर्न सकिन्छ । नेपालको असंलग्न परराष्ट्र नीति र स्वतन्त्र निर्णय गर्ने अधिकार कायम रहनुपर्छ ।