काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ ।
दुबई मुख्यालय रहेको कम्पनीले १२ नोभेम्बरमा नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको घोषणा गरेको हो । जेम्ल्यान्स्कीले विभिन्न देशमा सुरक्षा प्रविधिको विस्तार, जोखिम न्यूनीकरण, सञ्चालन मापदण्डको विकास तथा प्रभावकारी सुरक्षा अभ्यासलाई थप सुदृढ बनाउने जिम्मेवारी सम्हाल्नेछन् ।
उनले कम्पनीका व्यावसायिक, उत्पादन तथा सञ्चालनसम्बन्धी नेतृत्वकर्तासँगै सडक सुरक्षा संस्था र स्थानीय सरकारी निकायजस्ता बाह्य साझेदारसँग सहकार्य गर्नेछन् । विभिन्न देशका सडक अवस्था र यातायात सेवाको प्रकृतिअनुसार सुरक्षा रणनीति कार्यान्वयन गर्ने उनको प्रमुख जिम्मेवारी हुनेछ ।
याङ्गो राइडका प्रमुख कार्यकारी अधिकृत तथा याङ्गो ग्रुपका प्रमुख व्यावसायिक अधिकृत अदेनीयी अदेबायोले नयाँ नियुक्तिले कम्पनीको दीर्घकालीन व्यावसायिक विकासमा सुरक्षाको भूमिकालाई थप महत्त्व दिने बताए । उनले प्रयोगकर्ता र व्यावसायिक साझेदारको विश्वास कायम राख्न सुरक्षा कम्पनीको प्राथमिकतामा रहने उल्लेख गरे ।
कृत्रिम बुद्धिमत्तामार्फत जोखिम न्यूनीकरण

कम्पनीले मोबिलिटी सेवामा सम्भावित दुर्घटना तथा जोखिम रोकथामका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्ने भएको छ । यसका साथै रुट अनुगमन प्रणाली र प्रयोगकर्ताको पहिचान प्रमाणीकरणलाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ ।

जेम्ल्यान्स्कीले विभिन्न देशको यातायात प्रणाली, सडक अवस्था र स्थानीय आवश्यकताअनुसार यी प्रविधिको प्रयोग तथा विस्तारलाई नेतृत्व गर्नेछन् । साथै, दुर्घटना तथा गम्भीर घटनाको संख्या मात्र नभई जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय कति प्रभावकारी भए भन्ने विषयको मूल्याङ्कन प्रणाली पनि विकास गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गत सेप्टेम्बरमा सार्वजनिक गरिएको पहिलो ‘याङ्गो राइड सेफ्टी रिपोर्ट’ ले विश्वव्यापी रूपमा रिपोर्ट भएका गम्भीर ट्राफिक उल्लङ्घनको दरमा ३१ प्रतिशत कमी आएको देखाएको थियो । प्रतिदश लाख यात्रामा यस्तो उल्लङ्घनको दर ९.८३ बाट घटेर ६.७६ मा झरेको रिपोर्टमा उल्लेख छ ।

नेपालसहित विभिन्न देशमा सुरक्षा कार्यक्रम
याङ्गोले सडक सुरक्षालाई प्राथमिकता दिँदै आफ्ना साझेदार चालक र कुरियरका लागि तालिम, मोटरसाइकल सेवामा हेल्मेट तथा सुरक्षात्मक सामग्री वितरण र स्थानीय निकायसँग सहकार्य गर्दै आएको छ ।
दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशमा कम्पनीले साझेदार चालक तथा कुरियरलाई हेल्मेट र सुरक्षात्मक सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । नेपालसहित पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलामा यस्ता कार्यक्रममार्फत सयौँ हेल्मेट वितरण गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, जाम्बियाको सडक सुरक्षा संस्था ‘जाम्बिया रोड सेफ्टी ट्रस्ट’सँगको सहकार्यमा लुसाकाबाट सुरु गरिएको ‘सेफर जर्निज टु स्कुल’ कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई लक्षित गरी सडक पार गर्ने सुरक्षित संरचना, सवारी गति नियन्त्रणका उपाय र सडक सुरक्षा शिक्षा प्रदान गरिएको छ । उक्त कार्यक्रम सेनेगलसहित अन्य देशमा पनि विस्तार गरिएको छ ।
नवनियुक्त सुरक्षा प्रमुख जेम्ल्यान्स्कीले प्रविधिमार्फत जोखिमको पूर्वानुमान, सुरक्षा मापदण्डको सुदृढीकरण र स्थानीय तहमा सडक सुरक्षाका कार्यक्रम विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन् ।
उनले पछिल्ला पाँच वर्षदेखि राइड हेलिङ सेवामा सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएका छन् । प्राविधिक उत्पादन व्यवस्थापकबाट सुरक्षा प्रविधि प्रमुखसम्मको जिम्मेवारी सम्हालेका उनको अनुभवमा साझेदार चालक तथा कुरियरको पहिचान प्रमाणीकरण, खाता सुरक्षाको निगरानी र सुरक्षा मापदण्डको विकासलगायत विषय समेटिएका छन् ।
याङ्गो ग्रुप संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी हो । कम्पनीले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियासहित ३५ भन्दा बढी देशमा मोबिलिटी, डेलिभरी, फुडटेक तथा अन्य डिजिटल सेवा सञ्चालन गर्दै आएको छ ।