काठमाडौं । विश्वका उदीयमान तथा अवसरबाट पछाडि परेका देशका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यसहित ग्लोबल क्रिएटिभ फाउन्डेसन (जिसिएफ) औपचारिक रूपमा सुरु भएको छ। फाउन्डेसनले आफ्नो वेबसाइट सार्वजनिक गर्दै भौगोलिक अवस्था, आर्थिक हैसियत वा अवसरको अभावका कारण कुनै पनि सिर्जनशील प्रतिभा पछि पर्न नहुने मान्यतासहित अन्तर्राष्ट्रिय पहल अघि बढाएको जनाएको छ।
विज्ञापन एजेन्सी, शैक्षिक संस्था, स्वतन्त्र स्टुडियो, साना सहर तथा समुदायमा सिर्जनशील प्रतिभा रहे पनि उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अवसर सीमित रहेको फाउन्डेसनको भनाइ छ। विशेषगरी उदीयमान बजारका विज्ञापन एजेन्सीले विकसित बजारका प्रतिस्पर्धीको तुलनामा कम बजेटमा काम गर्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, गुणस्तरीय शिक्षा लिन, उद्योगसम्बन्धी कार्यक्रममा उपस्थित हुन र व्यावसायिक सञ्जाल विस्तार गर्न लाग्ने खर्च पनि उनीहरूका लागि चुनौती बन्ने गरेको छ।
यही चुनौतीलाई सम्बोधन गर्न बंगलादेशको ढाकास्थित पपफाइभका चिफ क्रिएटिभ अफिसर मोहम्मद अक्रम हुसेनले फाउन्डेसन स्थापना गरेका हुन्। विज्ञापन तथा सिर्जनशील क्षेत्रमा स्थानीय र अन्तर्राष्ट्रिय गरी २७० भन्दा बढी पुरस्कार प्राप्त गरिसकेका हुसेनले कान्स लायन्स, डीएन्डएडी, द वान शो, स्पाइक्स एसिया, म्याड स्टार्स र ग्लोबल एफी अवार्डलगायतका अन्तर्राष्ट्रिय मञ्चबाट सम्मान पाएका छन्।
हुसेनका अनुसार अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगबाट ज्ञान र अवसर प्राप्त गरेका व्यक्तिहरूले अवसरबाट वञ्चित समुदायसँग आफ्नो अनुभव र सीप बाँड्ने जिम्मेवारी लिनुपर्छ। उनले उदीयमान बजारमा रहेका प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन आवश्यक सहयोग र अवसर उपलब्ध गराउने लक्ष्य राखिएको बताएका छन्।
फाउन्डेसनको सल्लाहकार बोर्डमा पाँच महादेशका ३८ देशबाट ४८ जना सिर्जनशील क्षेत्रका अगुवा आबद्ध छन्। उनीहरूले कार्यक्रमको मापदण्ड निर्धारण, निर्णायकको भूमिका निर्वाह, नयाँ प्रतिभालाई मार्गदर्शन तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने काम गर्नेछन्।
यस अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डमा नेपालको प्रतिनिधित्व आउटरीच नेपालका संस्थापक तथा ‘ब्रान्डसूत्र’ र ‘ब्रान्डसूत्र २.०’ का लेखक उज्ज्वल शाक्यले गरेका छन्। विज्ञापन तथा ब्रान्ड निर्माण क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका शाक्यले नेपाली सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्च र अवसरसँग जोड्न तथा नयाँ पुस्तालाई मार्गदर्शन गर्न योगदान गर्नेछन्।

फाउन्डेसनले आफ्नो उद्देश्य पूरा गर्न छवटा परस्पर सम्बन्धित कार्यक्रम अघि सारेको छ। ‘ग्लोबल क्रिएटिभ काउन्सिल’मार्फत स्वतन्त्र विज्ञापन एजेन्सी, फ्रीलान्सर, इनहाउस टिम, उत्पादन स्टुडियो तथा अवसरबाट वञ्चित देशका सिर्जनशील व्यक्तिलाई व्यावसायिक समीक्षा र सुझाव उपलब्ध गराइनेछ। यसअन्तर्गत अन्तर्राष्ट्रिय निर्णायक समूहले सिर्जनशील कामको मूल्याङ्कन गरी प्रतिक्रिया दिने र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी हुन योग्य परियोजना सिफारिस गर्नेछ।

त्यस्तै, ‘क्रिएटिभ क्लान्स’ नामक कार्यक्रमले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच मानवीय सोच, मौलिकता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नेछ। यसमा कला, फोटोग्राफी, लेखन, डुडल, मिम्स र युवा प्रतिभासम्बन्धी प्रतियोगितासहित त्रैमासिक सिर्जनशील कार्यक्रम सञ्चालन गरिनेछ।

‘ग्लोबल क्रिएटिभ स्कुल’मार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूबाट अनलाइन कक्षा, मास्टरक्लास, कार्यशाला र मेन्टरसिप उपलब्ध गराइनेछ। सहभागी देशका लागि छुट्टै क्रिएटिभ कोचको व्यवस्था गर्ने योजना पनि फाउन्डेसनले बनाएको छ।
‘ग्लोबल क्रिएटिभ बिएनाले’ अन्तर्गत प्रदर्शनी, छलफल, फोरम, कार्यशाला तथा सांस्कृतिक सम्पदा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्। यसको पहिलो संस्करण श्रीलंकामा आयोजना गर्ने योजना छ। ‘ग्लोबल क्रिएटिभ स्कलरसिप’ कार्यक्रमले कम्प्युटर तथा सिर्जनशील उपकरण, एडोबी सफ्टवेयर तालिम, चित्रकला तथा नयाँ प्रविधिसम्बन्धी शिक्षाका लागि आवश्यकतामा आधारित सहयोग उपलब्ध गराउनेछ।
त्यसैगरी, ‘विबनेक्स’ कार्यक्रमले महिला उद्यमीलाई विज्ञापन एजेन्सी, बजार व्यवस्थापन विज्ञ, सिर्जनशील क्षेत्रका जानकार तथा मेन्टरसँग जोड्नेछ। यसमार्फत ब्रान्डिङ, मार्केटिङ, मिडिया खरिद, व्यावसायिक रणनीति र सामाजिक सञ्जालमा आधारित व्यापारसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
फाउन्डेसनले अनुभवी सिर्जनशीलकर्मी, उद्योगका अगुवा, शिक्षक, मेन्टर, विज्ञापन एजेन्सी तथा संस्थालाई आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध हुन आह्वान गरेको छ। इच्छुक व्यक्तिले सल्लाहकार बोर्ड, निर्णायक समूह तथा प्रशिक्षक र वक्ताका रूपमा सहभागी हुन सक्नेछन्।
ग्लोबल क्रिएटिभ फाउन्डेसनले प्रतिभा जहाँ भए पनि त्यसलाई पहिचान, विकास र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुने अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ। यसको आधिकारिक वेबसाइट globalcreativefoundation.org रहेको छ।