काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इजाजतपत्र प्राप्त इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरूलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुर (टीएससी) सँग सम्बन्धित विवरण पेश गर्न निर्देशन दिएको छ ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले बुधबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज महिनासम्मको दस्तुर विवरण बुझाउन सूचित गरेको हो ।
आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ५ मा ‘दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ’ भन्ने व्यवस्था रहेकाले प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरूसँग उक्त विवरण माग गरिएको सूचनामा उल्लेख छ । प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले नियमानुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित आवश्यक कागजातहरू सहित विवरण बुझाउनुपर्नेछ ।
प्राधिकरणले तोकेको ढाँचा अनुसार सेवा प्रदायकहरूले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै विवरण तयार पार्नुपर्नेछ । जसमा मासिक बिक्री अन्तर्गत इन्टरनेट बिक्री बापतको आय, मर्मत सम्भार बापतको आय, उपकरण बिक्री बापतको आय, अन्य आय र ती सबैको जम्मा आय रकम खुलाउनुपर्नेछ ।
दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको विवरण अन्तर्गत दाखिला गरिएको टीएससी रकम, दाखिला गरिएको मिति, तोकिएको समयभन्दा ढिलो बुझाएको भए दाखिला भएको ब्याज रकम र ब्याजसहित जम्मा दाखिला भएको कुल रकम उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
