ललितपुर । फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग शिष्टाचार भेट गरेको छ ।
ललितपुर महानगरपालिकाको कार्यालयमा शुक्रबार भएको भेटमा नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध, ललितपुर महानगरमा भएको विकास र असल अभ्यासमा सन्दर्भमा छलफल भएको थियो ।
फ्रान्सकी सांसद तथा फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष बेआत्रिस पिरोनको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।
भेटका अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिमण्डलाई स्वागत गरेका थिए । नगर प्रमुख महर्जनले फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने बताउँदै ललितपुर महानगरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे ।
महानगरले वातावरण संरक्षणसहित विपद् व्यववस्थापनलाई विशेष महत्व दिएको बताउँदै अपाडगतालगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामीले समावेशी विकासलाई प्रथामिकता दिएका छौं । ’ नगर प्रमुख महर्जनले ललितपुर महानगर सम्पदा र संस्कृतिको शहर भएको बताउँदै एकपटकको भ्रमण मात्रै पर्याप्त नहुने बताए ।

उनले प्रतिनिधिमण्डललाई ललितपुर फेरि आउन निम्तो दिए । फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष बेआत्रिस पिरोनले ललितपुरको विकासले आफू लोभिएको बताइन् । उनले ललितपुरले विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई प्राथमिकता दिएको खुशी व्यक्त गरिन् ।उनले महानगरको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आफ्नो यो पहिलो नेपाल भ्रमण भएको बताउँदै यहाँको वातावरणबाट आफू निकै प्रभावित भएको बताइन् । भेटवार्तामा फ्रान्सकी सांसद ग्राजिएला मेल्शियोर, फ्रान्सका राजदुत फ्राँस्वाज पुइग –इन्जा, ललितपुर महानगरका प्रवक्ता राजु महर्जन लगायतको सहभागिता रहेको थियो ।
