काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ- ‘नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभीरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभाव बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३।०८।०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म (दैनिक ५ घण्टा ) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुङ्गा माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ । तसर्थ, उल्लिखित समयावधिमा उक्त सडक खण्डमा सबै प्रकृतिका सवारी साधनको आवागमन बन्द रहने भएकाले सोही बमोजिम गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’
२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन् । एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् । उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ ।’ ओलीले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसहित स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए । जनप्रतिनिधिलाई जनतासँग विनम्र र मित्रवत् व्यवहार गर्दै सेवा प्रवाह गर्न तथा आगामी निर्वाचनका लागि जनतासँग टुटेको सम्बन्ध सुधार्न पनि उनले आग्रह गरे ।
३- बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विदेश राज्यमन्त्री हुमायुँ कबिरको घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ । यसअघि बिहीबार प्रदर्शनकारीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा पनि आगो लगाएका थिए । पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने तयारी र उनको दल अवामी लिगले गरेको देशव्यापी बन्द आह्वानपछि बंगलादेशका विभिन्न जिल्लामा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन् । प्रधानमन्त्री तारिक रहमानले हिंसात्मक गतिविधिका लागि अवामी लिग र हसिनालाई जिम्मेवार ठहर गरेका छन् ।

हिंसाका क्रममा गोपालगञ्जमा बंगलादेश नेसनलिस्ट पार्टीका दुई सांसदका घरमा तोडफोड र आगजनी गरिएको छ । कम्तीमा ६ वटा बस तथा पिकअप गाडी जलाइएको छ भने रेलमार्गको केही भागमा पनि क्षति पुर्याइएको छ । सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै सात जिल्लामा सीमा सुरक्षा बलका ९७ टोली परिचालन गरेको बताएको छ । प्रहरीले ढाकामा अवामी लिगसँग सम्बन्धित रहेको आशंकामा २४ घण्टाभित्र पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित १०७ जनालाई पक्राउ गरेको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेपछि राजनीतिक तनाव थप बढेको हो । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनको बंगलादेश फिर्ती बारे भारतसँग कुटनीतिक विवाद भने कायम रहेको छ ।

४- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण एकैपटक दुई लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्नु रहेको स्पष्टीकरण दिएको छ । विज्ञप्तिमार्फत क्यानले फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ । तर शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका थिए ।

टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् । क्यानले नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गर्दै टिकट नपाएका समर्थकसँग क्षमासमेत मागेको छ । टिकट खरिद गर्न नसकेका समर्थकलाई क्यानले आधिकारिक अनलाइन माध्यम तथा सिद्धार्थ बैंकमार्फत एनपीएललाई सहयोग गर्न आग्रह गरेको छ । तेस्रो संस्करणको एनपीएल फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

५- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुझाव नै नमागेपछि आफूहरूले सुझाव दिनुको औचित्य नरहेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलसँग कुनै सुझाव नलिइएको प्रसङ्ग उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने- ‘माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ?
निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ?’ उनले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए । निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको जानकारी दिए । सरकारले राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ थियो ।
६- नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.१४ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ म्युचुअल फण्डको शेयर ८.५० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २० करोड २२ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
७- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् । उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे उठेका गुनासा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए ।
साथै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र आयोगले आवश्यक पहल गर्नुपर्ने बताए । प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको उल्लेख गर्दै पार्टीभित्र थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए । निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरी पार्टीमा छलफल गरेपछि निर्णय लिने उनले बताएका छन् ।
८- अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) पछि कम्पनीका हजारौँ कर्मचारी करोडपति बनेका छन् । सार्वजनिक विवरणअनुसार कम्पनीका करिब २ हजार ८०० कर्मचारीसँग कम्तीमा एक करोड अमेरिकी डलर बराबरको सम्पत्ति पुगेको छ । त्यस्तै, चार सयभन्दा बढी कर्मचारीको सम्पत्ति १० करोड डलरभन्दा माथि पुगेको बताइएको छ । कम्पनीको सेयर बजारमा प्रवेशसँगै कर्मचारीको सम्पत्तिमा ठूलो वृद्धि भएको हो ।
तर, कम्पनीले तोकेको सेयर बिक्रीसम्बन्धी बन्देजका कारण कर्मचारीले तत्काल आफ्नो सेयर बेचेर उक्त सम्पत्ति नगदमा परिणत गर्न पाउने छैनन् । एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको बताइएको छ । यो निष्कासनले अन्तरिक्ष तथा विद्युतीय सवारीसाधनसम्बन्धी कम्पनी स्पेसएक्सको ७५ अर्ब डलरको निष्कासनलाई उछिन्दै विश्वकै ठूलो प्रारम्भिक सार्वजनिक निष्कासनको कीर्तिमान बनाएको दाबी गरिएको छ ।
कम्पनीले प्रतिकित्ता ८३ डलरमा सेयर निष्कासन गरेको थियो। कारोबार सुरु हुँदा सेयर मूल्य बढेर १११ डलर ५० सेन्ट पुगेको थियो भने कारोबारको अन्त्यमा ९७ डलर १७ सेन्ट कायम भएको थियो। यससँगै पहिलो दिनमै सेयर मूल्यमा करिब १७ प्रतिशत वृद्धि भएको थियो । सेयर बजारमा प्रवेशपछि एन्थ्रोपिकको बजार मूल्य करिब १ हजार ८ सय अर्ब डलर पुगेको थियो । कारोबारका क्रममा कम्पनीको मूल्य केही समय २ हजार अर्ब डलरभन्दा माथि पुगेको बताइएको छ । यससँगै एन्थ्रोपिक अमेरिकी बजारका सबैभन्दा मूल्यवान् कम्पनीमध्ये सातौँ स्थानमा पुगेको दाबी गरिएको छ । सन् २०२१ मा स्थापना भएको एन्थ्रोपिकका संस्थापकमा डारियो अमोडेई, ड्यानिएला अमोडेईसहित सात जना रहेका छन् ।
कम्पनीले विकास गरेको कृत्रिम बौद्धिकता प्रणाली ‘क्लोड’ यसको प्रमुख उत्पादन हो । यसअघि गुगल, माइक्रोसफ्ट र एनभिडियाबाट पनि कम्पनीले छुट्टाछुट्टै रूपमा २६ अर्ब अमेरिकी डलर बराबरको लगानी प्राप्त गरेको थियो । ती ठूला लगानी र सेयर बजारमा भएको सफल प्रवेशले एन्थ्रोपिकलाई कृत्रिम बौद्धिकता क्षेत्रमा तीव्र गतिमा विस्तार भइरहेको प्रमुख कम्पनीका रूपमा स्थापित गरेको छ । कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले संस्थापक र लगानीकर्तालाई मात्र नभई हजारौँ कर्मचारीलाई पनि ठूलो आर्थिक लाभ पुर्याएको छ । विशेषगरी २ हजार ८०० कर्मचारीको सम्पत्ति कम्तीमा एक करोड डलर पुगेको विवरणले प्रविधि कम्पनीको सफलताले कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पार्न सक्ने प्रभावलाई चर्चामा ल्याएको छ ।
९- सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ । मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ । बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ । त्यसैगरी, सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएका छन् ।
यी हुन् मन्त्रिपरिषद्का सात निर्णय : १- प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र नेपाली प्रतिनिधिमण्डल गठन गर्ने । २- भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने । ३- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । ४- देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने । ५- राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गर्ने । ६- ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गर्ने । ७- राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने ।
१०- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार, शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गर्दै आफुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे । राप्रपामा अहिले तीन पुस्ता रहेको भन्दै अब नाती पुस्ताले पार्टीको नेतृत्व नगरे पार्टी जनतामा गएर चुनाव जित्ने अवस्थामा नरहेको जिकिर गरे । राप्रपाको महाधिवेशन यहि मङ्सिर २६ गतेदेखि २८ गते काठमाडौंमा हुँदैछ ।
११- प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवाको विमानबाट अपराहन्न १: ४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । नेपालबाट ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने र निजी क्षेत्रबाट ५२ सदस्यीय टिम आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।
साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विविध क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
१२- नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका नागरिकलाई तत्काल १२४७ नम्बरमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरीको सम्बोधन गर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ। उक्त केन्द्रको १२४७ नम्बरमा सम्पर्क गरी साइबर ठगीसम्बन्धी घटनाको उजुरी गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी गराउनुपर्छ। साथै, उक्त नम्बरबाट प्राप्त जानकारीअनुसार आवश्यक प्रक्रिया अपनाउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ । ठगीमा परेको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन र ठगीमा परे ढिलाइ नगरी १२४७ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।
१३- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३३३५ रुपैयाँमा कारोबार भएको थियो ।
१४- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकबारे जानकारी दिदै बैठक मंसिर ८ गते दिउँसो १ बजे ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बस्ने तय भएको उल्लेख गरेका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
१५- काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था कमजोर देखिएको छ । महानगरपालिकाको सहरी योजना आयोगले गरेको अध्ययनअनुसार १६९ सार्वजनिक शौचालयमध्ये ११३ वटा अर्थात् ६७ प्रतिशत मात्रै नियमित सञ्चालनमा छन् भने १४ वटा बन्द अवस्थामा रहेका छन् । अध्ययनअनुसार नौवटा शौचालय आंशिक रूपमा सञ्चालनमा छन् भने १० वटा निर्माणाधीन अवस्थामा छन् ।
दुईवटा प्रयोग गर्न अयोग्य रहेका छन् भने २१ वटाको सञ्चालन अवस्था स्पष्ट हुन सकेको छैन । शौचालयको सुविधातर्फ हेर्दा ९८ वटामा महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था छ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सुविधा भएका शौचालय १५ वटा अर्थात् ९ प्रतिशत मात्रै छन् । महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक सुविधा ३२ वटा अर्थात् १९ प्रतिशत शौचालयमा मात्रै उपलब्ध रहेको अध्ययनले देखाएको छ । भौतिक अवस्थाको विश्लेषण गर्दा ४६ वटा शौचालय मात्रै राम्रो अवस्थामा छन् ।
५३ वटामा सामान्य मर्मत आवश्यक छ भने ३३ वटामा ठूलो मर्मत वा स्तरोन्नति गर्नुपर्ने देखिएको छ । नियमित पानी उपलब्ध हुने शौचालय ११३ वटा भए पनि राम्रो सरसफाइ भएका शौचालयको संख्या ३६ अर्थात् २१ प्रतिशत मात्रै छ। त्यस्तै, ७९ वटा शौचालय निःशुल्क सञ्चालनमा छन् । अध्ययन प्रतिवेदनबारे जानकारी लिएपछि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलाई नागरिकको अनिवार्य र आधारभूत सेवाका रूपमा विकास गर्न निर्देशन दिएकी छन् । उनले शौचालयलाई स्वच्छ, सुरक्षित, महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री र सबै नागरिकको पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिएकी छन् । अध्ययनले नयाँ शौचालय निर्माणभन्दा पनि भएका संरचनाको मर्मत, स्तरोन्नति र नियमित सञ्चालनलाई प्राथमिकता दिन सुझाव दिएको छ । असन र न्युरोडजस्ता घना बजार क्षेत्रमा निजी घर, पसल तथा संस्थाका उपयुक्त शौचालयलाई सम्झौतामार्फत सार्वजनिक प्रयोगमा ल्याउन पनि सुझाव दिइएको छ । महानगरपालिकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर सुधारका काम अघि बढाउने जनाएको छ ।
१६- संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारले रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायमाथि नरसंहार गरेको ठहर गरेको छ । अदालतले रोहिङ्ग्या समुदायको ठूलो हिस्सालाई नष्ट गर्ने नियतसहित हिंसात्मक कारबाही गरिएको निष्कर्ष निकालेको हो । सन् २०१७ मा म्यानमारको रखाइन राज्यमा सेनाले सञ्चालन गरेको कारबाहीका क्रममा करिब १० हजार रोहिङ्ग्याको हत्या भएको र सात लाखभन्दा बढी विस्थापित भएर बंगलादेश पुगेको अदालतले जनाएको छ । सेनाले सर्वसाधारणको हत्या, यौन हिंसा, बालबालिकामाथि अत्याचार तथा गाउँबस्ती जलाउने काम गरेको पनि ठहर गरिएको छ ।
गाम्बियाले सन् २०१९ मा म्यानमारविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले ९–६ मतले नरसंहार भएको निर्णय सुनाएको हो । म्यानमारले भने सशस्त्र समूहको आक्रमणपछि आतङ्कवादविरुद्ध कारबाही गरिएको दाबी गर्दै नरसंहारको आरोप अस्वीकार गर्दै आएको थियो । अदालतले नरसंहारमा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन म्यानमारको दायित्व रहेको जनाएको छ । क्षतिपूर्तिको रकम भने पछि निर्धारण गरिनेछ । यो कुनै राज्यले नरसंहार गरेको ठहर गर्ने अन्तर्राष्ट्रिय अदालतको पहिलो फैसला हो ।
१७- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । बैंककमा आयोजित एएफसी अवार्ड्सका क्रममा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग छलफल गरेका हुन् ।
भेटका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताएका छन् । छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेका थिए । एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । यससँगै फिफाले पनि एन्फामाथिको निलम्बन हटाउन मौखिक सहमति जनाएको बताइएको छ । अब आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी फिफाबाट समेत निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ । यसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय गतिविधिमा पुनः सक्रिय हुने बाटो खोल्ने विश्वास गरिएको छ ।
१८- नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्ने सम्झौता भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ । महासंघले भने मेलाको व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको जिम्मेवारी लिनेछ ।
यसका लागि महासंघले सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, आवश्यक पूर्वाधार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ । मेलामा उद्योग तथा व्यवसायका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरी रोजगार खोजकर्ताबाट आवेदन लिइनेछ । रोजगारदातासँग प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ। साथै, श्रम बजारको मागअनुसार प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ । सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा मेला सञ्चालन गर्न लागिएको महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले बताएका छन् । मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले रोजगार मेला डिजिटल प्रणाली सञ्चालन गर्नेछ । कार्यक्रम सम्पन्न भएपछि पनि सिर्जित रोजगारीका अवसरलाई निरन्तरता दिन मन्त्रालय, महासंघ, श्रम तथा रोजगार कार्यालय, स्थानीय तह र रोजगारदाताबीच समन्वय गरिने जनाइएको छ ।
१९- युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता नेसन्स लिगको क्वार्टरफाइनलमा इंग्ल्याण्डले नर्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक खेल तालिकाअनुसार क्वार्टरफाइनलमा स्पेनले फ्रान्स, नेदरल्यान्ड्सले पोर्चुगल र बेल्जियमले जर्मनीसँग खेल्नेछन् । क्वार्टरफाइनलका खेल दुई चरणमा हुनेछन् । दुवै चरणका खेल सन् २०२७ को मार्चमा सञ्चालन हुनेछन्। तालिकामा दोस्रो स्थानमा रहेका टोलीले दोस्रो चरणको खेल आफ्नै घरेलु मैदानमा खेल्नेछन् । क्वार्टरफाइनलका विजेता टोली नेसन्स लिगको अन्तिम चरणमा प्रवेश गर्नेछन् । सेमिफाइनलका खेल भने एकै चरणमा हुनेछन् ।
सेमिफाइनल सन् २०२७ जुन ९ र १० तारिखमा सञ्चालन हुनेछ । तेस्रो स्थानका लागि हुने खेल र फाइनल जुन १३ तारिखमा हुनेछ । प्रतियोगिताको अन्तिम चरण आयोजना हुने स्थान भने तय भइसकेको छैन । क्वार्टरफाइनलको विजेता टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स र पोर्चुगलबीचको विजेताले स्पेन र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । त्यस्तै, बेल्जियम र जर्मनीबीचको विजेताले नर्वे र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, समूह ‘ए’ र ‘बी’ बीचको प्लेअफमा बोस्निया हर्जगोभिनाले डेनमार्क, हंगेरीले सर्बिया, आयरल्यान्डले क्रोएसिया तथा स्लोभेनियाले वेल्ससँग खेल्नेछन् । समूह ‘बी’ र ‘सी’ बीचको प्लेअफमा साइप्रस र उत्तर म्यासेडोनिया, इस्टोनिया र रोमानिया, फारोइ आइल्यान्ड्स र जर्जिया तथा बेलारुस र इजरायलबीच प्रतिस्पर्धा हुनेछ ।
२०- नेपाल प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका समस्या तथा गुनासा सुनुवाइ गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार उक्त डेस्कको उद्घाटन गरेका हुन् । उनले प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैपटक गुनासा दर्ता गर्न सकिने विद्युतीय फारामको लिङ्क पठाएका थिए ।
साथै, एक प्रहरी कर्मचारीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी उनको गुनासो सुनेपछि डेस्कको औपचारिक शुभारम्भ गरेका थिए । प्रहरी नियमावली, २०७१ को नियम १९६ अनुसार स्थापना गरिएको डेस्कको उद्देश्य तल्लो तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित र न्यायोचित बनाउनु रहेको छ । प्रहरी महानिरीक्षक केसीले कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा अन्य गुनासोको निष्पक्ष सुनुवाइ गरी समयमै सम्बोधन गर्न डेस्कमा खटिएका अधिकारीलाई निर्देशन दिएका छन् । यस व्यवस्थाले नेपाल प्रहरीभित्र तल्लो तहका कर्मचारीका समस्या र गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।