काठमाडौं । फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीमा पर्यटकलाई समेत जोड्ने उद्देश्यले ल्याइएको यस एपमार्फत विदेशी पर्यटकले देशभरका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन् ।
एप प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी दर्ता गर्नुपर्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम लोड गरी फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
यस सुविधाले नेपाल भ्रमणका क्रममा पर्यटकलाई दैनिक कारोबारका लागि नगदमै निर्भर हुनुपर्ने अवस्थालाई कम गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने अपेक्षा गरिएको छ । यसबाट पर्यटकले नेपाली उपभोक्तासरह देशभर क्यूआर भुक्तानीको सुविधा उपयोग गर्न पाउनेछन् ।
एप सार्वजनिक गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालको डिजिटल भुक्तानी प्रणालीको पहुँच अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्ने उद्देश्यले ‘नेपाल नाउ’ ल्याइएको बताए ।

नेपालले क्यूआर भुक्तानीमा व्यापक सञ्जाल निर्माण गरिसकेको उल्लेख गर्दै उनले उक्त पूर्वाधारलाई नेपाल आउने विदेशी पर्यटकका लागि समेत सहज रूपमा उपलब्ध गराउन खोजिएको बताए । यसले पर्यटकको दैनिक भुक्तानी सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा व्यापारीलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिने थप अवसर सिर्जना गर्ने उनको भनाइ छ ।

नेपाल नाउ’ को सुरुवातलाई फोनपेले डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने र नेपाललाई डिजिटल रूपमा जोडिएको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासको महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको विद्यमान क्यूआर भुक्तानी प्रणालीमा जोड्ने यस पहलले डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

‘नेपाल नाउ’ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।