काठमाडौं, असोज ११ – उपत्यकाबाहिरबाट आएकालाई घरबेटी र कार्यालयले जबर्जस्ती पीसीआर गराउन पठाएपछि स्वास्थ्य मन्त्रालयले मापदण्डविपरीत पीसीआर नगराउन प्रयोगशालाहरूलाई सचेत गराएको छ । काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क पीसीआर गर्न रातै बिताएर लाम बस्न थालेपछि मन्त्रालयले उनीहरूलाई पीसीआरको सट्टा कोठामै १४ दिन क्वारेन्टाइनमा बस्न दिन घरबेटीहरूलाई आग्रह गरेको छ ।
काठमाडौंको टेकु अस्पतालमा पीसीआर परीक्षणका लागि लाइन बसेकाहरु । फाइल तस्बिर
‘पीसीआर गर्न बाध्य बनाइएकाले राति–राति झरीमा रुझ्दै झेल्नुपरेको समस्याप्रति स्वास्थ्य मन्त्रालय दुखित छ,’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘यात्रा गर्नेबित्तिकै पीसीआर गर्नुको कुनै औचित्य हुँदैन । यात्रा गरेर आएको दुई सातासम्म छुट्टै बस्नुपर्छ । यो अवधिमा कोरोनाको कुनै लक्षण देखियो भने मात्रै पीसीआर गर्न जानुस् । दुई सातामा लक्षण नदेखिए पीसीआर गर्नुपर्दैन ।’
पीसीआर गराउन सार्वजनिक यातायातमा चढेर जाने र लाममा बस्दा अरूलाई सार्ने सम्भावना हुने उनले बताए । ‘हामी सबैसँग निजी ल्याबमा तिर्नुपर्ने शुल्क नहुन पनि सक्छ । त्यसकारण टेकुबाहेक वीर, टिचिङ, पाटनमा निःशुल्क पीसीआर गर्न पाइन्छ,’ उनले भने, ‘सरकारले तोकेको पीसीआर गर्ने दायरामा पर्नुभयो भने बिनाशुल्क परीक्षण गर्न देभभरिका २६ वटा ल्याब छन् ।’
कोठामा बस्नेलाई अनावश्यक दुःख नदिन मन्त्रालयले काठमाडौं उपत्यकाका घरधनीहरूलाई आग्रह गरेको छ । ‘हरेक मानिस तपाईंको परिवारका सदस्यजस्तै हुन् । सधैं पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न अनुरोध गर्दछु,’ शनिबारको बिफ्रिङमा गौतमले भने, ‘संक्रमितसँग भेट भएको ५ दिन नपुगी आएको पीसीआरको रिपोर्टले तपाईंको परिवारै जोखिममा हुन्छ । पीसीआर होइन घरमा एक्लै बस्ने वातावरण बनाइदिन आग्रह गर्दछौं ।’
कोरोनाको शंका लागेर आफ्नै खर्चमा पीसीआर गराउनु मापदण्डविपरीत भएको भन्दै यसलाई रोक्न मन्त्रालयले प्रयोगशालाहरूलाई पत्राचारसमेत गरेको छ । कोरोनाको शंका लागेका व्यक्तिले निजी र सरकारी प्रयोगशालामा शुल्क तिरेर आफूखुसी पीसीआर गराइरहेका छन् । मन्त्रालयले शुक्रबार देशभरिका प्रयोगशालालाई पत्राचार गरेर ‘नेसनल टेस्टिङ गाइडलाइन’ विपरीत अनावश्यक परीक्षण गर्ने र तोकिएकाबाहेकका व्यक्तिको परीक्षण गर्न अभिप्रेरित गर्नेलाई कारबाही हुने उल्लेख छ । निजी ल्याबमा शुल्क तिरेर मात्रै शुक्रबारसम्म १ लाख १ हजार ८ सय ६ जनाले पीसीआर गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न गृहलगायत अन्य मन्त्रालयमा सिफारिस गरिसकेको छ । ‘स्वास्थ्य मन्त्रालयको सिफारिस आएको छ,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने । शनिबारसम्म सक्रिय संक्रमित १८ हजार ३ सय ४१ छन् ।
मन्त्रालयले नेसनल टेस्टिङ गाइडलाइनमा परेका व्यक्तिलाई मात्रै पीसीआर गराउन प्रयोगशालाहरूलाई निर्देशन दिएको सहायक प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए । ‘पीसीआर घटाउने भन्दा पनि जसको आवश्यक हो उसको मात्रै गराउनुपर्छ भन्ने हो,’ उनले भने ।
मन्त्रालयले कोभिड–१९ संक्रमणको लक्षण भएका सबै व्यक्ति ९ज्वरो, सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद, गन्ध थाहा नपाउने, पखाला लागेका र संक्रमित व्यक्तिहरूको निकट सम्पर्कमा आएका० को ५ दिनपछि मात्रै पीसीआर गराउन निर्देशन दिइएको छ । त्यस्तै अकस्मात् श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरू, विदेशबाट फर्किएर कम्तीमा ५ देखि ७ दिन क्वारेन्टाइनमा बसेका, अग्रपंक्तिमा रहेर काम गर्नेहरू, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र ६० वर्ष नाघेका व्यक्तिको मात्रै पीसीआर गर्न मन्त्रालयले पत्राचार गरेको हो ।
चिकित्सकीय सल्लाहअनुसार शल्यक्रिया गर्नॅपर्ने व्यक्ति र सिकिस्त बिरामीहरूको डिस्चार्ज गर्नका लागि भने निःशुल्क पीसीआर गर्न सकिने मन्त्रालयले जनाएको छ । आफ्नो खर्चमा भने कूटनीतिक नियोग वा भिसा प्रयोजनका लागि पीसीआर गर्न सकिने मन्त्रालयले जनाएको छ । ‘सरकारले कोरोनाको पहिचान र उपचारको व्यवस्था निःशुल्क गरेको छ,’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘अझ केही समय हामी सबैले थप मिहिनेत गर्नुपर्ने जरुरी छ । यस रोगको नियन्त्रण एवं रोकथामका लागि विगतमा हामीले गरेका प्रयासबाट सिक्दै नयाँ जीवनशैली अपनाउँदै आएका पनि छौं ।’
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS