काठमाडौं, असोज ११ – डेभ्लपमेन्ट एलायन्स नेपालले सिद्धार्थ बैंकका कर्मचारीहरुका लागि कृषि वित्त तालिम दिएको छ । असोज ९ र १० गतेसम्म अनलाईन विधिबाट संचालित उक्त तालिममा उक्त कम्पनीको विभिन्न शाखाहरुमा कार्यरत २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा कुखुरा पालन, पशु पालन, मत्स्यपालन, तरकारी एवं फलफूल खेतीजस्ता व्यवसायलाई लक्षित गरी सम्बन्धित विषयका विशेषज्ञहरुले प्राविधिक तथा वित्तीय पक्षका साथै कर्जा विश्लेण सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसका साथै नेपालमा कृषि व्यवसायका चुनौति, कृषि कर्जा लगानी गर्दाका संभावित जोखिम, कृषि कर्जा विश्लेषण गर्दा ध्यान दिनु पर्ने पक्षका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
तालिममा समापनका अवसरमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल सरकारको नीति व्यवसायिक कृषिलाई अगाडि बढाउने रहको भन्दै यस कार्यमा कर्जा विस्तार गरी सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहबाट ठूलो अपेक्षा गरिरहेको बताए । उनले कर्मचारीहरुमा कृषि कर्जा विश्लेषणमा दक्षता अभिवृद्धि भइ गुणस्तरीय कर्जा प्रवाहमा सघाउ पुग्ने पनि बताए ।
सो अवसरमा माइक्रो बैंकिङ्ग प्रमुख केशव खातीले तालिम बैंकको अपेक्षा अनुरुप प्रभावकारी रहेको र तालिममा सहभागी कर्मचारीहरुलाई सिकेको सीप सदुपयोग गर्दै वास्तविक कृषकको पहिचान गरी कृषि कर्जा विस्तारमा जुट्न आग्रह गरे ।
FACEBOOK COMMENTS