काठमाडौँ, आश्विन २२ – लमजुङमा करदाता सेवा कार्यालय खुलेको छ । लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी बिहीबारदेखि बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको हो ।
बिहीबार आयोजित कार्यक्रममा करदाता बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल र प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले उद्घाटन गरे । कार्यालय स्थापनापछि यस भेगमा करको दायरा बिस्तार गर्न र करदातालाई सहज रुपमा सेवा उपलब्ध गराउन सकिने कर अधिकृत सुशील लम्सालले बताए ।
बिहीबार स्थानीय अनिल दवाडीलाई लेखा नम्बर प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको थियो । यसअघि आन्तरिक राजस्व कार्यालय दमौलीबाट भइरहेका काम अब लमजुङ र मनाङका लागि बेसिशहरमै उपलब्ध भएको लम्सालले जानकारी दिए ।
यी दुई जिल्ला पर्यटकीय व्यवसायका लागि चिनिएका छन् । मनाङमा कुल ५ सय ९७ र लमजुङमा ८ हजार २ सय ९० करदाता दर्ता भइसकेको तथ्यांक रहेको छ ।
FACEBOOK COMMENTS