काठमाडौं, कात्तिक ३ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
सभापति देउवाले पार्टीका सबै सांसदलाई सोमबार यस्तो निर्देशन दिएका हुन्। कांग्रेसका केही सांसदहरूले यस्तो संकटका बेला भत्ता लिनु लज्जाजनक हुने भन्दै आइतबार नै फिर्ता गर्ने घोषणा गरेका थिए।
दशैँ भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी गराइन्। दशैँ भत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए। संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो।
प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दशैँ भत्ताबापत संसद सचिवालयले प्रति सांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो।