काठमाडौं – सुन्दर यातायात प्रालिले काठमाडौं, पोखरा, बुटवल र चितवनमा १३ ओटा विद्युतीय बस सञ्चालन गर्ने बताएको छ ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले मुख्य चार शहरमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अनुसार पहिलो चरणमा काठमाडौंमा सञ्चालन हुने जानकारी दिए ।
उनले काठमाडौंमा ४५ सीट क्षमताका विद्युतीय बस सञ्चालन गर्ने तयारीअनुसार आफ्नै लगानीमा काठमाडौंको सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरेको बताएका छन् ।
उनका अनुसार १ महीनाभित्रै काठमाडौंमा विद्युतीय बस सञ्चालन हुनेछ । त्यसका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
बस किन्न कम्पनीले २० करोड १५ लाख लगानी गरेको छ । त्यसबाहेक काठमाडौंसम्म ल्याउँदा लाग्ने ढुवानी, भन्सार, भ्याटलगायत शुल्क तिर्दा कम्पनीको लगानी २४ करोड ३१ लाख पुग्ने थापाले जानकारी दिए ।
उनका अनुसार पोखरा, चितवन र बुटवलमा भने चार्जिङ स्टेशन बनाएपछि करीब ३ महीनाभित्र तीन÷तीनओटा बस सञ्चालन हुनेछन् । काठमाडौंमा चारओटा बस सञ्चालन हुनेछन् ।
किनिने बसमध्ये सातओटा ४५ र पाँचओटा ३६ सीट क्षमताका हुनेछन् ।
FACEBOOK COMMENTS