काठमाडौं, मंसिर ९ – लामो समयदेखि उपभोक्ता अधिकारका विषयमा आवाज उठाउँदै आएका अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता संरक्षण परिषद्को सदस्यबाट राजीनामा दिएका छन् । चार दशक लामो उपभोक्ता अधिकार क्षेत्रमा काम गरेका महर्जनले उपभोक्ता अधिकारको कुरा उठाउँदा सरकारी निकायबाटै धम्की आएको बताएका छन् ।
“लोकतान्त्रिक सरकारको रूपमा रहेको यो सरकारकै सदस्यबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको विषयमा सरकारलाई आवश्यक कारवाहीको लागि अनुरोध गर्दा सरकारको विरोध गरेको आरोपमा मलाई सरकारको विभिन्न तह र तप्काबाट उपभोक्ता संरक्षण परिषद्को सदस्यबाट राजीनामा दिन ठूलो दबाव आएकोले उपभोक्ताको पक्षमा आवाज उठाउन पनि नदिने, व्यक्तिको मौलिक अधिकारसमेत कुण्ठित गराउने सरकारको कार्यले गर्दा सो परिषद्को सदस्य पदमा रही रहन उचित नहुने र मेरो आत्मसम्मानमा चोट पुगेकोको कारण यही मंसिर ८ गते देखि लागु हुने गरी सो पदबाट राजीनामा दिएको छु”, महर्जनले भनेका छन् ।
महर्जनले आफूले उपभोक्ताको हितमा काम गर्दा सरकारको विरोध गरेको ठान्ने र अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रणको लागि अनुरोध गर्दा अन्यथा ठानिएको बताएका छन् । महर्जन राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष समेत हुन् ।
FACEBOOK COMMENTS