काठमाडौं, पुस १५ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू (गुरुङ) समुदायको महान् चाड तमू ल्होछार÷ल्होसार–२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा पुनले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो । अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्मिश्रण एवं साझा संगमको रुपमा रहीआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित छ । नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व छन् । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन् ।’
पुराना वर्ग (वर्ष)को विदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले मनाउने तमू ल्होछार÷ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको उनको भनाइ छ । ‘मुसा वर्गको विदाई र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार÷ल्होसार विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विगत वर्षहरुजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव छैन । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदीबहिनी तथा दाजुभाइहरुले घर घरमा ल्होछार/ल्होसार मनाउनुहुने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
सन्देशमा भनिएको छ, ‘नेपाली जनता सातदशक लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त थिए । देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ । जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उनको भनाइ छ । संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनले बताएका छन् ।
FACEBOOK COMMENTS