काठमाडौं, ३ माघ – अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका एक प्रोफेसरमाथि अमेरिकासँग पैसा लिएर चीनको लागि जासुसी गरेको आरोप लागेको छ । प्रोफेसरलाई बिहीबार पक्राउ गरी उनीमाथि चीन सरकारको लागि गुप्त रुपले काम गरेको अभियोगमा मुद्दा चलाइएको छ । उनले चीनको लागि काम गर्दै गर्दा आफ्नो नानो टेक्नोलोजी शोधको लागि अमेरिकासँग पैसा लिने गरेको अभियोग लगाइएको छ ।
अधिकारीहरुलाई उद्धृत गर्दै ५६ वर्षका ग्याङ्ग चेनलाई संघीय एजेन्टहरुले क्याम्ब्रिजस्थित उनको घरबाट धोखाधडीसहित अन्य आरोपमा पक्राउ गरेका हुन् । अधिकारीहरुका अनुसार एमआइटीको लागि काम गर्ने क्रममा चेनले चिनियाँ संस्थाहरुसँग अज्ञात अनुबन्ध गरे र कैयौं बैठकमा सहभागी भएका थिए । उनीमाथि न्यूयोर्कस्थित चिनियाँ वाणिज्य दूतावास कार्यालयको अनुरोधमा चीन सरकारको लागि विदेशी विशेषज्ञको रुपमा काम गरेको समेत आरोप छ ।
अधिकारीहरुले अदालतमा पेश गरेका दस्तावेजमा उनले चीनको लागि कैयौं भूमिकामा रहेर काम गरेको र ती कामको उद्देश्य चीनको वैज्ञानिक र प्राविधिक लक्ष्यलाई अगाडि बढाउनु भएको दावी गरेका छन् । अधिकारीहरुका अनुसार उनले चीनसँग आफ्नो सम्बन्धको खुलासा गरेका छैनन् जबकि संघीय अनुदानका लागि आवेदन दिँदा यस्ता हरेक किसिमका जानकारी दिनु आवश्यक हुन्छ ।
अधिकारीहरुका अनुसार उनी र उनको शोध समूहले करिब २९ मिलियन डलर जम्मा गरेका थिए जसमा चीन सरकारद्वारा आर्थिक सहयोग गरिएको एक विश्वविद्यालयबाट लिएको कैयौं मिलियन डलर पनि समावेश छ । अर्कोतर्फ उनले २०१३ देखि एमआइटीमा आफ्नो कामको लागि अमेरिकी संघीय एजेन्सीबाट अनुदानको रुपमा १९ मिलियन डलर लिएका थिए । मासाचुसेट्सका अटर्नी एन्ड्रयु लिलिंगले संवाददाताहरुसँग कुरा गर्दै विदेशी सोधकर्ताहरुको साथमा काम गर्नु अवैध नभए पनि यसको बारेमा झुट बोल्नु भने अवैध भएको बताए ।
FACEBOOK COMMENTS