काठमाडौं, माघ ७- अमेरिकाका नवनिर्वाचित ४६ औं राष्ट्रपति जो बाइडनले बुधबार (आज) शपथ लिँदैछन् । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।
शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ ।
अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ ।
शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिनेछन् । बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ।
शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने बताइएको छ। शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ ।
नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडनको पूरा नाम जोसेफ रोबिनेट बाइडन जुनियर हो । उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।
आज ७८ पर्षिय बाइडनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिन लागेका हुन् ।
FACEBOOK COMMENTS