काठमाडौं, माघ २७ – अर्थमन्त्री विष्णु पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुमोदन नयाँ संसद्ले गर्ने बताएका छन् । मुलुक निर्वाचनमा होमिएको र निर्वाचनबाट आउने संसद्ले एमसीसी अनुमोदन गर्ने उनले बताए ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले एमसीसी अनुमोदन नयाँ संसद्ले गर्ने बताएका हुन् ।
‘एमसीसीको अनुमोदन के हुन्छ भन्ने साथीहरूको जिज्ञासा होला । नयाँ पार्लियामेन्टको गठनसँगै यो प्रश्नको जवाफ पनि नयाँ संसद्ले लिएर आउँछ होला,’ पौडेलले भने ।
पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर ढुंगानाले एमसीसीअन्तर्गत चालु आर्थिक वर्षमा ८ अर्बको काम गर्ने लक्ष्य रहेको बताए ।
प्रशारण लाइनका लागि नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहणको काम यसै आर्थिक वर्षमा हुने उनले जानकारी गराए ।
यसअघि प्रतिनिधि सभामा अनुमोदनका लागि पठाइएको एमसीसी अनुमोदन हुन सकेको थिएन ।
FACEBOOK COMMENTS