काठमाडौं, फागुन २३ – चीनले तिब्बतमा आगामी जुलाई महिनाभित्रमा बुलेट ट्रेन ल्याउने भएको छ । यससँगै चिनियाँ मुख्यभूमिका सबै प्रान्तीय स्तरका क्षेत्रमा द्रुत गतिको ट्रेन सेवा शुरू हुने भएको छ ।
ल्हासासम्मको ४३५ किलोमिटर लामो रेल लिंकमा फुसिङ द्रुत गतिका ट्रेनहरू दौडिने चाइना स्टेट रेलवे ग्रूप कम्पनी लिमिटेडका बोर्ड अध्यक्ष लु दोङ्फुले बताए ।
ल्हासालाई पूर्वी तिब्बतको निङ्चीसँग जोड्ने रेलवे लाइनको काम सन् २०१४ मा शुरू गरिएको थियो । यो तिब्बतको पहिलो विद्युतीय रेलमार्ग हो र जुलाई महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा छ । ट्य्राक बिछ्याउने काम सन् २०२० को अन्त्यसम्ममा पूरा भएको थियो । रेलको गति १६० किलोमिटर प्रतिघन्टा रहने टिबेट रेलवे कन्सट्रक्सन कम्पनी लिमिटेडले जनाएको छ ।
चीनले द्रुत गतिको रेल नेटवर्कका लम्बाइ सन् २०२५ मा लगभग ५० हजार किलोमिटर पुर्याउन लागेको छ । चीनले तिब्बत र दक्षिण एसियालाई जोड्ने प्यासेजवे बनाउने कामलाई १४औं पञ्चवर्षीय योजनामा समावेश गरेको छ ।
चीनले तिब्बत र नेपालमा बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गत ट्रान्स हिमालयन मल्टीडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमार्फत रेलमार्ग बनाउने योजना बनाइरहेको छ ।
केपी ओली सरकारले चीनसँग पराहिमालय सम्पर्क सञ्जाल निर्माणलाई जोड दिइरहेको छ ।
FACEBOOK COMMENTS