नवलपुर, वैशाख ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा शनिबार साँझ बस दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जना महिला र एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परी इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ३१ जना यात्रुमध्ये ३ जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अन्य घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो ।
FACEBOOK COMMENTS