काठमाण्डौ – नेपाल राष्ट्र बैंकले प्वाइन्ट अफ सेल (पीओएस) मार्फत हुने कारोबारमा कडाई गरेको छ ।
भारतीय बजारमा पीओएसमार्फत अवैध कारोबार हुने गरेको पाइएपछि राष्ट्र बैंकले कारोबारमा कडाई गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकका अनुसार भारतीय बजारमा पीओएसमार्फत हुने कारोबारमा एक लाख भारतीय रुपैयाँको सीमा तोकिएको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बढ्दो बैंकिङ कसुरको नियन्त्रणमा अनौपचारिक ढंगबाट हुने कारोबारलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको जानकारी दिए ।
यस्तै एटीएम कार्डमार्फत गरिने कारोबारमा पनि सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार एटीएम मार्फत एक दिनमा १५ हजार भारु निकाल्न पाइने छ भने एक महिनामा भारतभरका एटीएमबाट १ लाख भारु भन्दा बढी निकाल्न पाइने छैन ।
सरकारले पछिल्लो पटक भारतीय रुपैयाँ एक सय भन्दा बढीको नेपालमा कारोबार गर्न नपाइने नियम ल्याएको बेला राष्ट्र बैंकले भारतमा गरिने कारोबारमा पनि कडाई गरेको हो ।
FACEBOOK COMMENTS