काठमाडौं – काठमाडौंको दक्षिणकालीमा ६ सय रोपनी क्षेत्रफलमा फुटवेयर जोन निर्माण हुने भएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको अगुवाईमा जुत्ता चप्पल उद्योग मात्रै रहने फुटवेयर जोन निर्माणको काम अघि बढेको हो ।
फुटवेयर जोन निर्माणका लागि एसोसियसनले दक्षिणकाली नगरपालिकामा ६ सय रोपनी जमिन खरिद गरिसकेको छ । पुस महिनाभित्रै फुटवेयर जोनको शिलान्यस हुने एसोसियसनका निवर्तमान अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए ।
आगामी ३ बर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योगहरु फुटवेयर जोनमा सर्नेछन् ।
जोनमा १७० वटा उद्योग स्थापना हुनेछ जसमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना हुनेछन् । जग्गा खरिदको काम सम्पन्न भैसकेको श्रेष्ठले जानकारी दिए ।
तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको योजनामा फुटवेयर जोनको अवधारणा अघि बढेको थियो ।
FACEBOOK COMMENTS