काठमाण्डौँ — नेपालले श्रमिक पठाएबापत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्क नदिने कतारका रोजगारदातालाई श्रमिक लान नदिने भएको छ ।
कतारका लागि नेपाली राजदूत डा. रमेश कोइरालाले कतारका नवनियुक्त प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल बथमान फक्कोसँगको भेटमा सेवा शुल्क नदिने रोजगारदातालाई श्रमिक ल्याउन नदिने जानकारी दिएका हुन् ।
राजदूत कोइरालाले रोजगारदाताले सेवा शुल्क नदिँदा म्यानपावर कम्पनीले श्रमिकसँग शुल्क उठाइरहेको उल्लेख गर्दै सेवा शुल्क दिने कम्पनीलाई मात्रै श्रमिक भर्ना गर्ने नीति नेपालले लिएको जानकारी गराएका थिए ।
१० वर्षअघि कतारसँग भएको श्रमसम्झौताको पुनरावलोकनमा श्रमिक आपूर्तिको सबै जिम्मेवारी रोजगारदाताले बहन गर्नुपर्ने विषय समावेश गर्ने नेपालको तयारी छ ।
श्रमसम्झौताको पुनरावलोकनका लागि कतार र नेपालबीच संयुक्त प्राविधिक समूहको बैठक जनवरी ५ र ६ मा कतारमा हुँदै छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS